पोखराको यातायातलाई हरित प्रणालीमा विकास गरिने

- कोरियाले पहिलो चरणमा १५ लाख डलर खर्च गर्ने


     एभरेस्ट आवाज    
     कार्तिक २ गते २०७९ मा प्रकाशित




पोखराको यातायात प्रणालीलाई हरित प्रणालीमा विकास गर्न प्रक्रिया सुरु भएको छ।

कोरियाली विज्ञहरूको टोली र पोखरा महानगरपालिकाबीच हरित यातायात प्रणालीबारे छलफल गरिएको छ । छलफल पोखराको विद्यमान यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवर्द्धन गर्ने विषयमा केन्द्रीत थियो।

परियोजनाअन्तर्गत कोरियाले पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्ने सहमति भएको छ। ५ दिनसम्म पोखरामा रहेको टोलीले यहाँको सार्वजनिक यातायात र यसको रुटबारे स्थलगत अध्ययन गरेको हो।

टोलीका प्रमुख रेलमार्ग अनुसन्धान संस्थान कोरियाका परियोजना प्रबन्धक जियोन ह्युन किमले पोखराका ८४ वटा बस रुटहरूमा १ हजार २ सय ८६ स्थानमा बस स्टप निर्माण गर्ने जानकारी दिएका छन्। ३ ठाउँमा बस टर्मिनल निर्माण गरिनेछ।

उक्त खर्चको आधा रकम बस स्टप र बसहरूमा मेसिन जडान गर्दा खर्च हुने किमले जानकारी दिए। ३ चरणमा सबै काम पूरा हुनेछ। पहिलो चरणमा २०२५ सम्म सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक काम सक्ने योजना छ।

दोस्रो चरणमा २०३० सम्म हरित यातायात प्रणालीको विकास गर्ने र तेस्रो चरणमा २०३५ सम्म दिगो हरित यातायात प्रणालीको विकास गरिनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।