प्रधानमन्त्रीका लागि सबै किसिमले योग्य छु : प्रकाशमान सिंह


     एभरेस्ट आवाज    
     कार्तिक २ गते २०७९ मा प्रकाशित




नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आउँदो चुनावपछि आफू प्रधानमन्त्रीका लागि सबै किसिमबाट योग्य रहेको दाबी गरेका छन् ।

आउँदो चुनाव जित्ने आफ्नो पहिलो लक्ष्य रहेको र नेपाली कांग्रेसको संसदीय नेतामा चुनिएपछि प्रधानमन्त्री बनेर देश चलाउन आफू हर किसिमबाट योग्य रहेको उनले बताए ।

आज बुधवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा नेता सिंहले आफूले पार्टीका तल्लो स्तरका कमिटीदेखि महामन्त्रीसम्म बनेर पार्टी सञ्चालन गरिसकेको उल्लेख गर्दै सरकारको नेतृत्व गर्न आफू कमजोर नभएको जिकिर गरे । उनले देशको उपप्रधानमन्त्री बनिसकेको उल्लेख गर्दै अबको चुनावपछि हरेक किसिमबाट प्रधानमन्त्री बनेर देश सञ्चालन गर्न र देशमा सुव्यवस्था, राजनीतिक स्थिरता गराउन आफू सक्षम रहेको उल्लेख गरे ।

कुराकानीकै क्रममा नेता सिंहले काठमाण्डौ क्षेत्र नम्बर १ मा आफूविरुद्ध धेरै स्वतन्त्र र अन्य पार्टीका उम्मेदवार उभिए पनि स्थानीयको कामका लागि आफू नै योग्य रहेको दाबी गरे । उनले स्वतन्त्र उम्मेदवार अहिले परीक्षणको क्रममा रहेकाले सबैले एक–अर्काको गलत प्रचारप्रसार नगरि आफ्ना एजेन्डालाई जनताकोबीचमा लैजानुपर्ने आवश्यकता भएको बताए ।

नेता सिंहले आफ्ना अनुभवले कुन पदका लागि योग्य छु भन्ने कुरा बोलिसकेको भन्दै प्रधानमन्त्रीका लागि अवसर पाए देशमा केही गरेर देखाउने भोक आफूमा रहेको बताए । उनले आफूमा कुनै किसिमका लोभ नरहेको उल्लेख गर्दै प्रधानमन्त्री बन्नका लागि आफूमा सबै किसिमको योग्यता पुगिसकेको जिकिर गरे।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।