रणनीतिक सडक कालोपत्रका लागि पूर्वाधारको काम सुरु


     एभरेस्ट आवाज    
     कार्तिक ७ गते २०७९ मा प्रकाशित




बागलुङ । निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गत बागलुङ बजारदेखि सिँगानासम्मको सडक कालोपत्रका लागि पूर्वाधारको काम सुरु भएको छ ।

बागलुङ क्षेत्र नं १ अन्तर्गत बागलुङ नगरपालिकाको बागलुङ बजार अदालत चौपारी हुँदै सिँगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने सडक कालोपत्रेका लागि निर्माण व्यवसायी छनोट भएर बोक्सेखाल्टाबाट सडक चौडा पार्ने काम सुरु भएको छ ।

साढे दुई वर्षभित्र पूर्वाधार निर्माणसहित सडक कालोपत्र गर्नेगरी अहिले बोक्सेखाल्टाबाट सडक चोडा पार्ने काम सुरु भएको हो । सडकको पूर्वाधार ग्याबिन, कर्ल्भट, पर्खाल तथा नाली बनाउने गरी सडक चौडाको काम सुरु भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

अहिले सडक चौडा पार्न र सडक मिलाउनका लागि निर्माण व्यवसायीले दुई ठूला उपकरण परिचालन गरिसकेको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी इञ्जिनियर कृष्णबहादुर खड्काले बताए । तिहारपछि कामले अझै तीव्रता पाउने कार्यालयको भनाइ छ ।

बागलुङ बजार हुँदै सिँगाना, बरेङ, शान्तिपुर पुग्ने सडक ठेक्का सम्झौता भएको साढे दुई वर्षमा १० किलोमिटर सडक कालोपत्र भइसक्ने सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

उक्त सडक ३२ किलोमिटर लामो भए पनि अहिले सडकको सुरुदेखि १० किलोमिटर सडक कालोपत्र गरिनेछ । लामो समय बजेट अभावले कालोपत्रका लागि ठेक्कामा जान नसकेको सडक विभिन्न पहल र प्रयासका बाबजुद हाल आएर बाक्से खाल्टादेखि कालोपत्रका लागि आवश्यक पूर्वाधार निर्माणको काम थालिएको हो ।

ठेक्काअन्तर्गत बागलुङ बजारदेखि बोक्सेसम्म सडक कालोपत्र भइसकेका कारण बोक्सेबाट बौडैचौरको आलडाँडासम्म सडक कालोपत्र हुनेगरी कार्य आरम्भ भएको हो । निर्वाचन क्षेत्र नं १ रणनीतिक सडक सोही क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसदहरुको सिफारिसमा छनोट भएको थियो । अहिले सडक कालोपत्र नहुँदा सिँगाना हुँदै बरेङ शान्तिपुर जाने सडकमा यात्रुले सास्ती खेप्दै आएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।