ट्रयाक खुलेको १६ वर्षपछि सडक स्तरोन्नति गरिँदै


     एभरेस्ट आवाज    
     कार्तिक ८ गते २०७९ मा प्रकाशित




सांकेतिक तस्बीर

बागलुङको गलकोट नगरपालिका–७ मल्म र वडा नं १० पाण्डवखानी जोड्ने ग्रामीण सडक बर्खाको समयमा तीन महीना बन्द हुन्छ । सडक बन्द हुँदा स्थानीयले सास्ती खेप्नुपरेको थियो ।

अब यो सडक बर्खाको समयमा पनि चल्नेछ । सडकलाई बाह्रै महीना सञ्चालनका लागि स्तरोन्नतिको काम शुरू भएको छ ।

मल्मदेखि पाण्डवखानीसम्मको करीब पाँच किलोमिटर कच्ची सडक स्तरोन्नति हुने भएपछि स्थानीयवासी समेत खुशी भएका छन् । ट्याक खुलेको १६ वर्षपछि सडक स्तरोन्नति हुन लागेको हो ।

यो सडकको २०६३ सालमा ट्याक खुलेको थियो । संघीय सरकारले विनियोजन गरेको रू. तीन करोड बजेटबाट अहिले सडक स्तरोन्नति गर्न थालिएको हो । सडक स्तरोन्नतिका लागि जागृति निर्माण सेवाले रू. एक करोड ६३ लाखमा जिम्मा लिएको सडक डिभिजन कार्यालय बागलुङको सब–इञ्जिनीयर विजय शर्माले जानकारी दिए ।

निर्माण कम्पनीले सडक डिभिजन कार्यालय बागलुङसँग सम्झौता गरेर काम थालेको उनको भनाई छ । अहिलेदेखि नै काम शुरू भएको भन्दै इञ्जिनीयर शर्माले माघ महीनासम्ममा स्तरोन्नतिको कार्य सम्पन्न हुने बताए ।

‘सडक स्तरोन्नतिका लागि सम्झौता भएर काम शुरू भएको छ, निर्माण कम्पनीले तीव्र रूपमा काम गरेको छ, माघ महीनासम्म सक्नेगरी सम्झौता भएको छ,’ सब–इञ्जिनीयर शर्माले भने, ‘ग्रामीण सडक हो, अलिकति अप्ठ्यारो पनि रहेछ, निर्माण कम्पनीले रू. एक करोड ६३ लाखमा सम्झौता गरेको छ, माघमै काम सक्छौं भनेको छ ।’

उनले यसपटक सडकलाई नौ मिटर चौडा गर्ने, पर्खाल लगाउने र नाली निर्माण गरिने बताए । सडकको केही खण्डमा निकै अप्ठ्यारो रहेको भन्दै पुरानो रूट परिवर्तन गरी नयाँ खोल्नुपर्ने भएको उनको भनाइ छ । अहिले तीन किलोमिटर सडक स्तरोन्नति गर्ने तयारी रहेको बताए ।

‘सडक निकै साँघुरो छ, यसलाई ९ मिटर चौडा गर्नुपर्नेछ, सडक तलदेखि वाल उठाउने र नाली निर्माण पनि हुने, केही ठाउँ निकै अप्ठ्यारो भएको हुँदा ५०० मिटरजति सडकको रूट नै परिवर्तन गरेर नयाँ खोल्नुपर्ने भएको छ,’ उनले भने ।

यो सडक स्तरोन्नति नहुँदा यात्रुले जोखिम मोलेर यात्रा गर्न बाध्य भएको गलकोट नगरपालिका–७ मल्मकी स्थानीय ललिता थापाले बताइन् । सडक निकै साँघुरो र खाल्डाखुल्डी रहेकाले दुर्घटनाको जोखिमसमेत बढेको उनको भनाइ छ । स्तरोन्नति भए यात्रा र सामान ढुवानी गर्न सहज हुने उनले बताइन् ।

‘यो सडक खुलेको धेरै वर्ष भयो अहिलेसम्म साँघुरो छ, स्तरोन्नति हुन सकेको थिएन, अब हुन्छभन्दा निकै खुशी लागेको छ, सडकभरि खाल्डाखुल्डी छन्, साँघुरोसमेत रहेको हुँदा दुर्घटनाको जोखिम निकै थियो,’ थापाले भनिन्, ‘अब यात्रा गर्न सजिलो हुने भयो ।’

थापाले असारदेखि असोजसम्म सडक अवरुद्ध हुने गरेको भन्दै अब बाह्रै महीना सञ्चालन हुने अपेक्षा गरिन् । बर्खामा गाडी नचल्दा गाउँलेले सामान बोकेर उपभोग गर्नुपरेको उनले सुनाइन् । अब यो समस्याको समाधान हुने उनको भनाइ छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।