दमौलीमा कस्मेटिक पसलमा आगलागी


     एभरेस्ट आवाज    
     कार्तिक ८ गते २०७९ मा प्रकाशित




तनहुँको सदरमुकाम दमौली न्यूरोडस्थित न्यान्सी कस्मेटिक पसलमा सोमबार राति आगलागी भएको छ ।व्यास नगरपालिका–१ भादगाउँ निवासी मनिषा कुमालले सञ्चालन गरेको उक्त पसलमा विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको छ ।

उक्त पसल केही महिनाअघि रु ६३ लाखमा खरिद गरेको पसल सञ्चालक कुमालले जानकारी दिए । पसल किनेपछि पनि सामान थप गरिएकाले करिब रु७० लाखको क्षति भएको उनको दाबी छ ।

आगलागीका कारण कस्मेटिकका सामान तथा टाँसीलगायतका सामान जलेर क्षति भएको प्रहरीले जनाएको छ । दमकल आउन ढिलाइ भएकाले बढी क्षति हुन गएको घटनास्थलमा सहभागीले बताएका थिए । स्थानीयवासी, नेपाल प्रहरी, नगरप्रहरीसहितको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । आगलागीका कारण कति क्षति भयो भन्नेबारे पीडित व्यक्तिले प्रहरीमा कुनै जाहेरी नदिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।