पोखरामा पनि छठको रौनाक सुरु,यी चार स्थानमा मनाईदै


     एभरेस्ट आवाज    
     कार्तिक ११ गते २०७९ मा प्रकाशित




पोखरा । नेपालमा छठ पर्वको रौनाक सुरु भएको छ । जस अन्तर्गत पोखरामा पनि छठ पर्व धुमधामका साथ मनाउने तयारी गरिएको छ । यो पर्व विषेशगरि तराइभेगमा मनाइँदै आएको भएपनि पोखराको पर्यटन प्रवद्धनमा सहयोग पुग्ने भन्दै छठ पर्व पुजा समितीले यस पटक पोखराको चार स्थानमा मनाउँदै छ ।

पोखरामा शुक्रबार पत्रकार सम्मेलन गर्दै समितिका अधयक्ष रामआधार गुप्ताले पोखराको केदारेश्वर मन्दिर, भद्रकाली मन्दिरस्थित माछापोखरी, नदीपुर स्थित नारायणस्थान मन्दिर र कालीखोलमा मनाइने छठ पर्वलाई संयुक्त रुपमा मनाउने योजना अघि सारेको जानकारी दिएका हुन्।

उनले यसलाई पर्वको रुपमा मात्रै सिमित नगरी महोत्सवको रुपमा लैजाने योजना आफुहरुको रहेको बताए । ‘हामीले पोखराका विभिन्न स्थानमा छठ पर्व पूजा गर्दै आइरहेका छौँ । अब हामीले संयुक्त रुपमा लैजाने योजना अघि सारेका छौँ । यसमा महानगरपालिकाको पनि साथ पाएका छौँ । त्यसैले अब महोत्सवको रुपमा लैजान्छौँ’ उनले भने ।

समितिका कोषाध्यक्ष दिनेश कुमार चौधरीले नेपालको विरगंज विराटनगरबाट शुरु भएको छठ पर्व मनाउने प्रचलन अहिले देशभर फैलिएको भन्दै पोखरामा पनि अवको दिनमा थप व्यवस्थित रुपमा मनाउने योजना रहेको बताए । उनले पोखरा पर्यटकीय स्थलमात्र नभई धार्मिक पर्यटनको क्षेत्र समेत रहेकाले छठ पर्वका लागि भारतीय तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनाउने योजना रहेको सुनाए ।

उनले यो पर्वलाई तराइको मात्र पुजा भनेर मानिदै आएपनि यो सनातन धर्मको अंगको रुपमा रहेकाले सबैले मनाउनुपर्नेमा जोड दिए । पोखरामा करिब पाँच हजार बढीले छठ पूजा गर्ने समितिका सचिव गोरखनाथ जैसवालले जानकारी दिए ।

छठ पर्व सूर्यको अनुष्ठान हो । सद्भाव र भातृत्वको प्रतीकसमेत मानिने यस पर्वलाई बढो हर्ष अनि उल्लासका साथ नदी, तालतलैया या पोखरीको किनारमा शृङ्गार गरेर तयार पारिएका घाट, केराका थम्बा, झिलिमिली बत्तीबीच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको किरणलाई अघ्र्य दिने प्रचलन रहेको छ । छठी माताको व्रत लिने व्रतालुका घरमा छठमा चढाउनका लागि छरछिमेकबाट पनि विभिन्न प्रसादहरु दिने चलन रहेको छ ।

केराका घोगा, नरिबल, भोगटे अनि अन्य फलफूलहरुलाई छठको प्रसादका रुपमा लिने चलन पनि छ । यसरी तयार पारिएको फलफूललाई छठको अन्तिम दिन विहानै अर्घ्य स्वरुप उदाउँदो सूर्यलाई देखाउने र प्रसादस्वरुप घर लैजाने चलन छ । यसको पहिलो दिनलाई अरबा अथवा नहाई खाय भनिन्छ । त्यस्तै, दोस्रो दिनलाई खर्ना, तेस्रो दिनलाई सँझिया अर्घ्य अर्थात् छठ भनिन्छ । कार्तिक शुक्ल चतुर्थीबाट सुरु भएको यो पर्वको तेस्रो दिन छठ अर्थात् षष्ठी हो । यसको अन्तिम दिन अर्थात् चौथो दिनलाई विहनिया अर्घ्य पारण भनिन्छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।