कास्की–१ मा नेपाल राष्ट्रिय शिक्षक संगठनको भेला


     जुना थापा     
     कार्तिक १४ गते २०७९ मा प्रकाशित




नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको आइतबार निर्वाचन क्षेत्र नं. १ स्तरीय शिक्षक भेला तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ।

‘सार्वजनिक शिक्षाको उन्नयनमा पेशाकर्मीको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय समितिका सचिव राम प्रसाद पोखरेलले राज्य सञ्चालनको माथिल्लो तहमा बसेका साशक तथा राजनीतिक दलका नेताहरूले शिक्षा, स्वास्थ्यलगायत जनसरोकारका विषयमा राम्रोसँग कुरा नबुझेको औंल्याए।

उनले मुलुक र मुलुकवासीको विकासका लागि स्पष्ट कार्ययोजनासहित आउने दल र उम्मेदवारहरूलाई मतदान गरी विजय गराउन आग्रहसमेत गरे।

उनले भने, ‘आउने मंसीर ४ गते सम्पन्न हुने आम निर्वाचनमा शिक्षा नीतिबारे प्रष्टसँग कुरा बुझेका, योजना तथा कार्यक्रम प्रष्ट भएका, शिक्षक कर्मचारीहरूका पेशागत सुरक्षा तथा सेवा सुविधाबारे सकरात्मक सोँच भएका, सार्वजनिक शिक्षाको सुधारका निम्ति स्पष्ट नीति, विचार, योजना तथा खाका भएका उम्मेदवारहरूलाई मतदान गरी विजय गराउनुपर्दछ।’

आम निर्वाचन नजिकिदै आइरहेको सन्दर्भमा कतिपय दल तथा उम्मेदवारहरूले मतदातालाई प्रभावित पार्न गलत र भ्रमपूर्ण कुराहरू गर्न सक्नेतर्फ उनले सचेत गराए।

कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा भन्दापनि सत्यको पक्षमा वकालत गर्न र मतदाता शिक्षा मार्फत आम मतदातालाई आफ्नो मत प्रकट गर्ने तरिका सिकाउन एवं बदर हुन सक्ने मत संख्या घटाउन सहयोग गर्न आग्रह गरे।

त्यस्तै, कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलले संगठन आबद्ध शिक्षकहरूका कार्यभारबारे जानाकारी गराए।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका निवर्तमान संस्थापक प्रमुख तथा जिल्ला शिक्षा समितिका निवर्तमान अध्यक्ष बैनबहादुर अधिकारी क्षत्री, युवा विद्यार्थी नेता दिलिप न्यौपाने, नेपाल शिक्षक युनियन कास्कीका संस्थापक अध्यक्ष दीपक पौडेल, नेपाल शिक्षक महासंघ कास्कीका अध्यक्ष बोधराज पौडेल, पेशागत महासंघ नेपाल कास्की जिल्ला समितिका अध्यक्ष जगन्नाथ अधिकारी, जिल्ला समिति कास्कीका उपाध्यक्ष बसन्धरा पौडेललगायतका व्यक्तित्वहरूले सार्वजनिक शिक्षाको उन्नयनमा पेशाकर्मीको भूमिका विषयमा आफ्नो धारणा राखेका थिए।

जिल्ला समितिका कास्कीका सचिवालय सदस्य तथा क्षेत्र नं. १ शिक्षक भेला आयोजक समितिका संयोजक प्रदीप न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला समिति कास्कीका सचिव तिर्थराज ढकालले संचालन गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।