कारको ठक्करबाट तीन जनाको मृत्यु,ठक्कर दिनेको खोजीकार्य जारी


     एभरेस्ट आवाज    
     कार्तिक १४ गते २०७९ मा प्रकाशित




रुपन्देही । रुपन्देही सदरमुकाम भैरहवा नजिकै कारको ठक्करबाट एक शिशुसहित तीन जनाको मृत्यु भएको छ । छठघाटबाट घरतर्फ फर्किरहेको कारले ठक्कर दिँदा ३५ दिनको एक शिशुसहित तीन जनाको मृत्यु भएको हो ।

घटनामै परेका शिशुको आमासहित दुई जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालले बताए ।

अर्यालका अनुसार बिहान करिब साढे ४ बजे कारको ठक्करबाट मृत्यु हुनेमा २८ वर्षीया प्रमिला कुर्मी, १४ वर्षीय सीमा कुर्मी र ३५ दिनको नाम नखुलेको शिशु रहेका छन् । यस्तै सोही घटनामा परी २४ वर्षीया बन्दना कुर्मी र २६ वर्षीया मन्जु कुर्मी घाइते भएको उनले जानकारी दिए ।

घाइतेको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । उनीहमध्ये मन्जुको अवस्था सामान्य रहे पनि बन्दना भने गम्भीर अवस्थामा रहेको अर्यालले जानकारी दिए ।

छठ व्रतालुलाई बिहान भैरहवाबाट परासीतर्फ गइरहेको कारले ठक्करले दिएको थियो । कारको पहिचान अहिलेसम्म हुन सकेको छैन । प्रहरी प्रवक्ता अर्यालले कारको खोजी भइरहेको तथा घटनाको सम्बन्धमा थप अनसन्धान भइरहेको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।