कास्कीमा माओवादीबाट वडाध्यक्षका उम्मेदवारसहित १२ जना एमाले प्रवेश

- कम्युनिष्ट,देशभक्त र राष्ट्रवादी शक्तिलाई एमालेमा गोलबन्द गर्ने योजना ः अधिकारी


     एभरेस्ट आवाज    
     कार्तिक १४ गते २०७९ मा प्रकाशित




पोखरा । कास्कीमा नेकपा माओवादी केन्द्रका एक दर्जन नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

एमाले गण्डकी प्रदेश संगठन कमिटीद्वारा सोमवार पोखरामा आयोजित कार्यक्रममा माओवादी प्रदेश कमिटी सदस्य राजु शर्मा तिमिल्सिना, पूर्व जिल्ला कमिटी सदस्य चुणामणी विक र भूपालबहादुर थापा, पोखरा १८ का उपाध्यक्ष नारायण तिमिल्सिना लगायत १२ जना एमाले प्रवेश गरेका हुन् ।

उनीहरुलाई एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी, प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, पोलिटव्युरो सदस्य सीता गिरी ओली, केन्द्रीय सदस्य कृष्ण थापालगायतका नेताहरूले स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै नवप्रवेशी राजु तिमिल्सिनाले अहिले निश्चित नेता तथा कार्यकर्ताले ढोका खोलेको र आगामी दिनमा धेरै भन्दा धेरै नेता तथा कार्यकर्ता प्रवेश गरी घर उज्यालो बनाउने बताए ।

यसैविच कुनै पनि दलमा खुलेर नलागेका दुई जना सामाजिक अभियन्ताले पनि एमाले रोजेका छन् । हिमालय क्लब पोखरा १६ का अध्यक्ष मोहन थापा र सोही क्लबका संस्थापक अध्यक्ष तीर्थ तामाङ एमाले प्रवेश गरेका हुन् ।

गत ३० वैशाखको चुनावमा तिमिल्सिना पोखरा १८ मा वडाध्यक्ष उम्मेदवार थिए । कांग्रेसका उम्मेदवार विजयी हुँदा तिमिल्सिनाले ७०२ मत पाएका थिए । त्यहाँ एमाले उम्मेदवार पुष्कलबहादुर थापा ३ मतले हारेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।