, , ,

कोही नेपाली भूमिहीन हुँदैनन् : विश्वप्रकाश


     एभरेस्ट आवाज    
     कार्तिक १५ गते २०७९ मा प्रकाशित




पोखरा ।कास्की २ (१) मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले देशको समृद्धि र समतामूलक समाजका लागि कोही नेपाली भूमिहीन हुन नहुने बताएका छन् । भूमिको उचित योजना र उपयोगबिना विकास असम्भव हुने उनले बताए ।

माओवादी केन्द्रका नेता विश्वप्रकाश लामिछानेले भूमिहीन र अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि काम जारी रहेको बताए । उनले अहिले सेतो पूर्जा दिइएको जनाउँदै चाडै लालपुर्जा वितरण हुने बताए । उनले भने, ‘गरिब, सिमान्तकृतका बस्तीमा विकासका पूर्वाधार निर्माण र मानव विकास लागि हामी योजनावद्ध प्रयास गर्छौं ।’

पोखरा १७ को प्रगति टोलमा गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गर्दै लामिछानेले गरिब, उत्पीडित, भूमिहीनको हितका लागि माओवादीले निरन्तर आवाज उठाउँदै आएको स्मरण गरे । निर्वाचनमा विजयपछि जनताका मौलिक हक र अधिकारको ग्यारेन्टी हुने उनको आश्वासन छ ।

‘संविधानमा सबै जनताको अधिकार राज्यले ग्यारेन्टी गर्ने लेखिए पनि व्यवहारमा आएको छैन, ‘लामिछानेले भने, ‘यस्ता अधिकार जनताले पाउनुपर्छ भनेर नै म चुनावमा होमिएको छु ।’सबैलाई समान शिक्षा, स्वास्थ्यको अधिकार दिलाउन, रोजगारीको ग्यारेन्टी गर्न लाग्ने उनले प्रतिवद्धता गरे ।

मौका पाउँदा आफूले जिम्मेवार ढंगले उत्तरदायित्व निर्वाह गरेको उदाहरण दिदै उनले गरिबी, अशिक्षा, आर्थिक असमानता रहेसम्म नयाँ नेपाल नबन्ने उल्लेख गरे । व्यवस्था परिवर्तनको नेतृत्व गर्ने माओवादीले मात्र अब समृद्धिको नेतृत्व गर्न सक्ने उनको भनाइ छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।