एभरेस्ट एफएमको रक्तदान : अन्नपूर्ण ९ का वडाध्यक्ष गुरुङद्वारा रक्तदान


     एभरेस्ट आवाज    
     कार्तिक १६ गते २०७९ मा प्रकाशित




पोखरा । एभरेस्ट मिडिया हाउसले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नम्वर ९ का वडाध्यक्ष रमेश गुरुङले रक्तदान गरेका छन् ।

विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रमहरु हुन नसक्दा पोखरामा रगतको अभावलाई पुरा गर्न क्षेत्रिय रक्तसञ्चार केन्द्रको अनुरोधमा एभरेस्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएम ९३ मेगाहर्ज र एभरेस्ट आवाज डटकमको संयुक्तरुपमा आयोजना भएको कार्यक्रममा वडाध्यक्ष गुरुङले रक्तदान गरेका हुन् ।

तमुधिं कास्कीका यूवा समिति संयोजक समेत रहेका गुरुङले आकस्मिक रक्तदान कार्यक्रममा सहभागि हुन सबैलाई आग्रह गरे ।
‘स्वस्थ जीवनका लागि रक्तदान, पुण्यका लागि रक्तदान’ भन्ने नाराका साथ आयोजित आकस्मिक रक्तदान कार्यक्रम क्षेत्रीय रक्तसञ्चार केन्द्रको सहकार्यमा हुने कार्यक्रम पोखरा– ५, प्रस्याङ स्थित एफएमको प्राङ्गणमा जारी छ ।

रक्तदानमा १७ देखी ६० वर्ष उमेर समूहका ४५ केजी भन्दामाथि तौल भएका कुनै पनि दिर्घरोगको औषधी सेवन नगरेका संक्रामक रोग नलागेका स्वस्थ व्यक्तिले रक्तदान गर्न सक्ने छन् । रक्तदान गर्नाले शरिरमा नयाँ रक्तकोष उत्पादन भई स्वास्थ्य प्राप्ति हुने, हृदयघात र क्यान्सरको खतरा कम हुने, क्यालोरि कम भई शरिरको तौल घटाउन सघाउने लगायतमा फाइदा हुने विज्ञहरुको भनाई छ ।

यसका साथै रगतको विकल्प रगत मात्र भएकाले संकटमा परेकाहरुको जीवन बचाई खुशी दिलाउने र सामाजिक दायित्व निर्वाह गराई आत्म सन्तुष्टि प्रदान गर्नपनि रक्तदानको महत्व छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।