बागलुङको पर्यटकीयस्थल बेलढुंगामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ।
प्रचार–प्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुंगा आउने पर्यटकको संख्यामा वृद्धि भएको हो।
बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सीमामा बेलढुंगा अवस्थित छ। माथिल्लो भाग पहिराले भत्किएपछि उजाड बनेको बलेढुंगामा गण्डकी प्रदेश सरकार र स्थानीयको साझेदारीमा पूर्वाधार निर्माण गरिएको थियो। बेलढुंगा आउने पर्यटकलाई धम्जाको ओखलेमा स्थापना गरिएको सामुदायिक घरवासका कारण सहज भएको छ।
बेलढुंगा आउँदा निकै आनन्दित र ऊर्जा थपिएको जैमिनी नगरपालिकाका रमेश केसीले बताए।
‘समाचार र सामाजिक सञ्जालबाट थाहा त पाएको थिएँ, तर यहाँ आएपछि सुनेभन्दा राम्रो लाग्यो, पदमार्ग र हिमालको दृश्यले मनै लोभ्यायो,’ उनले भने।
ढुंगा छापेर बनाइएको रेलिङसहितको पदमार्ग, प्रवेशद्वारा, सूचना बोर्ड र प्राकृतिक भ्यूटावरका रूपमा रहेको बेलढुंगा भत्केपछि बनाइएको नयाँ संरचनाले थप आकर्षित बनाएको छ।
यहाँबाट हिमशृंखला, म्याग्दी सदरमुकाम बेनीसहित उच्च पहाडी भेगको अवलोकन गर्न सकिन्छ। प्राकृतिक पहाडको टुप्पोलाई नामकरण, प्रचार–प्रसार तथा पूर्वाधार निर्माणका कारण पर्यटक यहाँ आउन थालेको स्थानीय गोपाल श्रीशको भनाई छ।
‘पालिका र गण्डकी प्रदेशले सहयोग गरेको छ, ५ वर्षदेखि घरवाससमेत संचालन गरेका छौं,’ बेलढुंगा सामुदायिक घरवासका संचालक समेत रहेका श्रीशले भने, ‘अहिले शुक्रवार र शनिवार अरु समयभन्दा बढी पर्यटक यहाँ आउने गरेका छन्।’
दुवै जिल्लाका स्थानीयवासीको पहल र प्रयत्नपछि अहिले पुन: बेलढुंगा नयाँ स्वरूप ल्याएको मात्रै छैन, बेलढुंगालाई राष्ट्रिय रूपमै चिनाइसकेको छ। गुमनाम रहेको बेलढुंगाको विशेषता र प्रचार–प्रसारका कारण पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ। बेलढुंगालाई पर्यटन गन्तव्यको रूपमा विकासका लागि गण्डकी प्रदेश सरकारले २ वर्षअघि रू. २० लाख र चालू आर्थिक वर्षमा रू. २० लाख बजेट विनियोजन गरेको थियो।
बागलुङ बजारबाट करीब २ घण्टाको सडक यात्रापछि पुग्न सकिने सो गन्तव्यमा म्याग्दीतर्फबाट समेत सजिलै पुगिन्छ। समुद्री सतहबाट २ हजार ६१२ मिटरको उचाईमा रहेको बेलढुंगाबाट देखिने सुन्दर हिमशृंखलादेखि २ विभिन्न जिल्लाका गाउँघर र प्राकृतिक मनोरम दृश्य देख्दा मनै लोभ्याउने गरेको स्थानीय मनकुमारी भण्डारीले बताइन्। भत्किएको बेलढुंगा काठेखोला गाउँपालिकाको रू. २ लाख ५९ हजारमा मर्मतसम्भार गरिएको थियो। ओख्लेको देउरालीसम्म सडक पुगेको छ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







