वनमाराले ढाकेका जमीनमा चिया बगान


     एभरेस्ट आवाज    
     कार्तिक १७ गते २०७९ मा प्रकाशित




tea plantation

पाँच वर्ष पहिले काठेखोला गाउँपालिका–७ रेसमा बसाइँसराइका कारण पाखोबारी र खेतीयोग्य जमीन वनमाराले ढाकेका थियो।

तर, अहिले ती पाखाबारी चिया बगानमा परिणत भएका छन्। चिया खेतीले वनमाराले ढाकेका पाखोबारी ढाकिएपछि किसानसमेत निकै उत्साहित भएका छन्।

स्थानीयवासीले ४ वर्ष अगाडि परीक्षणका लागि ताराखोलाको सिरुबारीबाट केही बिरुवा ल्याएर लगाएका थिए। चियाको बिरुवा हुर्किए र परीक्षणसमेत सफल भएपछि किसान उत्साहित छन्। चियाको बोट राम्रो हुँदै गएपछि स्थानीयवासीले खाली भएका व्यक्तिगत तथा सार्वजनिक जग्गामा यसको खेती विस्तार गर्न थालेका छन्।

‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ’को रूपमा गाउँ छनोट भएपछि रेसको साना किसान सहकारी संस्थाले बौर र तिङरिङको ७२ रोपनी खाली जग्गामा चिया खेती विस्तार गरेको संस्थाका अध्यक्ष यामबहादुर कार्कीले जानकारी दिए। शुरूमा परीक्षणका थोरै क्षेत्रफलमा करीब १५ हजार बिरुवा लगाइएको भन्दै उनले परीक्षण सफल भएपछि खेती विस्तार गरिएको बताए।

हाल तिङरिङ र बौर गरी ३ स्थानमा ५६ हजार बिरुवा लगाइएको उनले जानकारी दिए। आफूहरूले गाउँलाई चिया बारीको गाउँ बनाउने उद्देश्यले अहिले ३ लाख बिरुवा नर्सरीमा उत्पादन गरिरहेको उनको भनाई छ। यसका लागि हालसम्म करीब रू. ४२ लाख खर्च भएको उनले बताए। मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ परियोजना र स्थानीयको जनश्रमदानबाट चियाखेती विस्तार भएको उनको भनाई छ। यो ठाउँ चियाखेतीका लागि निकै उपयुक्त रहेको र अब हरेक नागरिकलाई यसतर्फ लाग्न प्रेरित गर्ने उनले बताए।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।