संभावित शीतलहर र हिमपातबाट बच्न सरकारको विशेष पूर्वतयारी तीव्र


     एभरेस्ट आवाज    
     मंसिर २१ गते २०७७ मा प्रकाशित




सरकारले संभावित शीतलहर तथा हिमपातबाट हुने क्षति कम गर्न विपद्को पूर्वतयारी तीव्र बनाइएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था कार्यकारी समितिले चिसो मौसममा ‘सम्भावित शीतलहर तथा हिमपात प्रभाव न्यूनीकरण पूर्वतयारी र प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७७’ पारित गरेको छ।

साथै, त्यसलाई कार्यान्वयनका लागि काम अगाडि बढाउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन पनि दिएको छ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको समितिको बैठकले चिसोजन्य विपद्का लागि तत्काल पूर्वतयारी थाल्न निर्देशन दिइएको हो। बैठकलगत्तै प्राधिकरणले विपद्मा जुट्न स्वयंसेवक ब्युरो गठन तथा परिचालन निर्देशिका, २०७७ को मस्यौदामाथि बृहत् छलफल गरेको छ।

सरकारको निर्देशनअनुसार प्राधिकरणले चिसोजन्य विपद्बाट आमजनतालाई सुरक्षा दिने कार्ययोजनामा काम थालेको हो।

कार्यान्वयनका लागि प्रदेश, जिल्ला र स्थानीय तहमा पठाइएको छ। त्यसका साथै चिसोबाट बच्न सचेतनामूलक कार्यक्रम स्थानीय भाषामै तयार गर्ने तयारी पनि सुरु भएको छ । कार्ययोजना अनुसार शीतलहरबाट अति प्रभावित बन्ने तराईका ११ जिल्लालाई १५ लाख रुपियाँसम्मको न्यानो कपडा, कम्बल र दाउरा लगायतको व्यवस्था गरिने छ। कम प्रभावित ११ जिल्लालाई १० लाख रुपियाँसम्मका सोही सामग्री प्रदान गरिने छ।

हिमामालले छोएका २१ हिमाली जिल्लालाई ७ लाख रुपियाँ बराबरको र ३४ पहाडी जिल्लालाई पाँच लाखसम्मको न्यानो कपडा लगायतका सामग्री प्रदान गरिने छ। त्यस्तै विपन्न वर्ग, जोखिममा परेका समुदायलाई समेत न्यानो कपडा, दाउरा लगायतका जाडोबाट सुरक्षित राख्ने सामग्री वितरण गर्ने तयारी थालिएको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।