उद्यमशीलता र पूर्वाधारमा जोड: दिपक माइला


     एभरेस्ट आवाज    
     कार्तिक २४ गते २०७९ मा प्रकाशित




पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र १ (ख) का दिपक गुरुङ ‘माइला’ले स्थानीय सरकारसँग सहकार्य गरेर नमुना पोखरा बनाउने बताएका छन्।

पोखरा–१० मा बुधबार भएको घरदैलोमा उनले मतदातामाझ पोखरालाई अझ स्तरीय बनाउने भिजन रहेको सुनाए।

‘यहाँको विकास गर्न भनेर नै मेरो उम्मेदवारी हो। एक पटक जिताएर पठाउनुहोस्। पोखरा साँच्चिकै पोखरा जस्तो बनाउनेछु,’ उनले भने, ‘योजना बनाउन सजिलो हुन्छ तपाइँको साथ पाए भने कार्यान्वयन पनि तत्काल हुनेछ।’

उनले समुन्नत नेपाल र सम्मानीत नेपाली भन्ने मूल अवधारणसहित चुनावी मैदानमा उत्रेको सुनाए।

‘म उम्मेदवार बन्दै गर्दा प्रदेशले लिएका समृद्धिका आधार, पर्यटन, कृषि, उर्जा, उद्यमशीलता र पूर्वाधारलाई आत्मसाथ गर्ने प्रतिबद्धता गर्दछ,’ उनले भने, ‘समुन्नत प्रदेशको लागि सरकराले लिने नीति, योजना, रणनीतिक योजनलाई समर्थन गर्दै आफ्नो भूमिकामा खरो उत्रिने प्रण गर्दछु।’

उनले निर्वाचनले प्रदेश संरचनाप्रति नागरिकको आकर्षण बढाउने र जनतलाई व्यवस्थाप्रति उत्साहपूर्ण आशाको सन्देश दिने विश्वास लिएको बताए। देशलाई काँध थाप्न सक्ने नेपालको मुल पार्टी नेपाली काँग्रेस र काँगे्रससहितको गठबन्धनका उम्मेदवारलाई विजयी गराउन उनले पोखरा–१० का मतदातासँग आग्रह गरे।

उनले स्वास्थ्यको क्षेत्रमा बीमा कार्यक्रमअन्र्तगत सबै नागरिकको पहुँचसम्म पुर्‍याउन सरोकारवालासँग आवश्यक समन्वय र सहकार्य गरेर काम गर्ने पनि प्रतिबद्धता व्यक्त गरे।

‘स्वास्थ्य क्षेत्रको स्तरबृद्धि गर्नेछु,’ उनले भने, ‘अस्पतालहरुमा दक्ष चिकित्सकको व्यवस्था गरिनेछ। उपकरणसहितको स्वास्थ्य सेवा वडाबाटै उपलब्ध गराउन पहल गर्नेछु।’

गुरुङले सिँचाई कार्यक्रम योजनालाई पनि अघि सारेको सुनाए।

‘घरमा प्रयोग गरि खेर जाने पानीबाट करेसाबारी सिँचाई गर्न सकिने खालका कार्यक्रम सञ्चालन गरिनेछ,’ उनले भने, ‘वर्षातको पानी संकलन गरी सदुपयोग गर्ने कार्यक्रम संचालन गरिनेछ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।