मधुवन नेपालको कास्की र स्याङ्जामा सहयोग

- पढाईसंगै समाजिक सेवामा अगाडी बढ्दै राघवी न्यौपाने


     एभरेस्ट आवाज    
     कार्तिक २६ गते २०७९ मा प्रकाशित




पोखरा । मधुवन नेपाल नामक गैरसरकारी संस्थाले कास्की र स्याङ्जाका विभिन्न स्थानमा औषधी तथा ह्विलचेयर वितरण गरेको छ ।
संस्थाले हालै पोखराको मानव सेवा आश्रम, कास्कीस्थित कारागार रहेका महिला तथा बालबालिकाहरुका लागि स्वास्थ्य शिविर र स्याङ्जाका ६ जनालाई ह्विलचेयर वितरण गरेको हो ।

संस्थाले पोखरा छोरेपाटनस्थित मानव आश्रममा आश्रित दिर्गरोगी विरामीहरुका लागि आवश्यक उच्च रक्तचाप, सुगर, मानसिक तथा सामान्य रुघा, खोकी, ज्वरो, भिटामिन तथा मलह पट्टी लगायतका एक वर्षलाई पुग्ने औषधी वितरण गरिएको छ ।

त्यस्तै कास्कीस्थित कारागारमा रहेका महिला तथा बालबालिकाहरुका लागि स्वास्थ्य जाँच शिविर, न्यानो कपडा, शैक्षिक, खेलकुद , तथा सरसफाईका सामाग्रीहरु वितरण गरेको संस्थाले जनाएको छ । संस्थाले सीबीआरएससंगको सहकार्य र कालीगण्डकी गाउँपालिका, स्याङ्जाको समन्वयमा शारिरीकरुपमा अशक्त ६ जनालाई ह्विलचेयर वितरण गरेको छ ।

कास्कीमा सन् २०१९ मा स्थापना भएको संस्थाले झण्डै ४ लाख रुपैयाँको सहयोग गरिसकेको संस्थाका संस्थापक राघवी न्यौपानेले जानकारी दिइन् । अमेरिकामा रहेर पब्लिक हेल्थमा स्नातकोत्तर गरिरहेकी उनले पढाईपछिको समयमा कामबाट जम्मा गरेको पैसाबाट सामाजिक क्षेत्रमा सहयोग गरिरहेको बताईन् ।

संस्थामा गण्डकी मेडिकल कलेज पोखराका इन्र्टन डाक्टरहरु प्रज्ञा अर्याल, प्रशंसा थापा, निसान केसी, सरोजकुमार यादव, निश्चल जंग शाह, निशा तामाङ, नमस्या बस्याल लगायत संस्थामा स्वयमसेवकका रुपमा आवद्ध छन् ।

संस्थाले अब कास्कीका सामुदायिक विद्यालयहरुमा प्रजनन् स्वास्थ्य शिक्षा उपलब्ध गराउने र एचआईभी एड्सबाट संक्रमितहरुको क्षेत्रमा काम गर्ने तयारी गरिरहेको संस्थाका संस्थापक न्यौपानेले जानकारी दिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।