ला ग्राण्डी कलेज ईन्टरनेश्नल काण्डः भ्रमपुर्ण समाचार प्रति विद्यार्थीहरुको खण्डन


     एभरेस्ट आवाज    
     कार्तिक २८ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा—८ सिमलचौरस्थित ‘ला ग्राण्डी इन्टरनेशनल कलेज’का विषयमा केहिदिन अघि प्रकासित समाचार प्रति सोहि कलेजका विद्यार्थीहरुले खण्डन गरेका छन् ।

४ जना शिक्षकहरुले विद्यार्थीहरुलाई गलत हर्कत गरेको विषयमा विभिन्न सञ्चार माध्यममा अतिरञ्जित समाचार प्रकासित भएको भन्दै सम्पुर्ण विद्यार्थीहरुले संयुक्त विज्ञाप्ती जारी गरि खण्डन गरेका हुन् ।

विज्ञप्तीमा भनिएको छ, “यस ला ग्राण्डी इन्टरनेशनल कलेजमा मिति २०७९ कार्तिक २१ गते का दिन हामी विद्यार्थीहरुले केहि शिक्षकहरुको नैतिक आचरण सँग सम्बन्धित विषयलाई लिएर कलेज प्रशासन समक्ष औपचारिक गुनासो प्रस्तुत गरेकोमा कलेज प्रशासन को तर्फबाट तत्काल सम्बन्धित शिक्षक तथा विद्यार्थीहरु सँग आवश्यक छलफल, राय र स्पष्टीकरण लिई कारबाहीको प्रकृया समेत अगाडी बढाईसकेकोमा सोहि विषयलाई लिएर हाल विभिन्न संचार माध्यम तथा सामाजिक संजाल मार्फत वास्तविक विषय भन्दा फरक ढंगबाट समाचार सम्प्रेषण तथा विषयको प्रस्तुति भएको हुँदा यस कलेजमा अध्ययनरत हामी तमाम विद्यार्थीवर्गको गम्भीर ध्यानाकर्षण भएको छ ।

यस सम्बन्धमा वास्तविक विषयलाई सम्पूर्ण माझ प्रस्तुत गर्न चाहन्छौं । विशेष गरी यस कलेजमा अध्यापन गराउनु हुने चार जना शिक्षकहरुबाट केहि छात्राहरुलाई फरक फरक समयमा कक्षा समय भन्दा बाहेक र अध्ययन सँग असम्बन्धित व्यक्तिगत म्यासेज गरेको नै प्रमुख विषय रहेको र त्यस् बाहेक अन्य अश्लिल हर्कत नगरेको स्पष्ट पार्न चाहन्छौं ।

यस अवस्थामा उक्त विषय ( शिक्षकहरु बाट म्यासेज तथा व्यक्त गरिएका कुराहरु ) एउटा शिक्षकको नैतिकता र मर्यादा विपरित रहेको हामि सबै विद्यार्थीको ठहर भै सोहि अनुसार कलेज प्रशासन समक्ष औपचारिक रुपमा प्रस्तुत गरेकोमा कलेजको तर्फबाट सम्बन्धित विद्यार्थीहरु सँगको छलफल र निचोड अनुसार नै कलेजले कारवाही अगाडी बढाएको र उक्त निर्णय न्यायोचित भएको हामी सबैको ठम्याई रहेको छ ।

यसै विषयमा संचार माध्यमहरुमा आंशिक रुपमा प्रसारित भएका वा प्राप्त भएका केहि अपूर्ण भिडियोहरुमा उक्त विषयको पूर्ण रुपको सत्य तथ्य प्रसारित नभएको र त्यसैलाई आधारित मानी संप्रेषण गरिएका अपुष्ट समाचारहरुले सार्वजनिक रुपमा फरक परिदृश्य सृजना गरेको सम्पूर्ण माझ स्पष्ट पार्न चाहन्छौ । उक्त अपुष्ट संप्रेषित समाचारले विषयान्तर भएको महशुस हामी सम्पूर्ण विद्यार्थीहरुले गरेका छौं र उक्त विषयको यथार्थता प्रस्तुत गर्न आवश्यक ठानी यस विज्ञप्ति प्रस्तुत गरेका छौं ।

तसर्थ, यस सन्दर्भमा हामी विद्यार्थीहरुको तर्फबाट कुनै पक्षसँग पनि थप गुनासो नरहेको हुँदा यस विषयलाई लिएर कुनै पनि माध्यमबाट समाचारहरु सम्प्रेषण नगरिदिनु हुन पनि हामी सम्पूर्ण माझ अनुरोध गर्दछौं ।

साथै यस विषयमा थप जानकारी आवश्यक भएमा हामी कलेजमा अध्ययनरत र सम्बन्धित विद्यार्थीहरु वा कलेज प्रशासन सँग नै औपचारिक रुपमा सूचना लिन समेत अनुरोध गर्दछौं । यधपी यस सन्दर्भमा माथी उल्लेखित विषय नै यथार्थ रहेको र विषयको गम्भीरता अनुसारको समाधान भईसकेको बेहोरा सम्पूर्ण माझ जानकारी गराउन चाहान्छौ ।”

उक्त घटनाको एउटा भिडियो समाजिक सञ्जालमा भाईरल बनेको छ । भिडियोमा ४ जना प्राध्यापकले छात्राहरुलाई गलत मनसायले बोल्ने गरेको गुनासो गरेका छन् ।

सामाजिक सञ्जाल म्यासेन्जर मार्फत विद्यार्थीलाई म्यासेज पठाउने ४ जना शिक्षक प्रवेश गौतम, बसन्त श्रेष्ठ, ज्ञानेन्द्र पौडेल र प्रदिप कुमार लम्साललाई विद्यालय प्रशासनले निष्काशन गरिसकेकोले त्यो बाहेक समाचारमा सम्प्रेषण भए जस्तो घटना अतिरञ्जित नभएको विद्यार्थीहरुले दाबी गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।