ल्याण्डफिल्ड निर्माणका विषयमा निर्णय भएको छैन : प्रमुख आचार्य


     एभरेस्ट आवाज    
     मंसिर १ गते २०७९ मा प्रकाशित





नागरिक उडड्यन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ जनवरी १ बाट सञ्चालनमा ल्याउने तयारी गरेको छ । विमानस्थलबाट बुध्द एयरले जनवरीदेखि भारतका विभिन्न गन्तव्यमा उडान गर्ने भन्दै विज्ञप्ति जारी गरिसकेको छ । यद्यपि विमानस्थलको मुख्य चुनौतीका रुपमा रहेको ल्याण्डफिल साइट कहाँ सार्ने भन्ने विषयमा महानगरले अझै टुङ्गो लगाउन सकेको छैन ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले ल्याण्डफिल्ड साइट व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी गरिरहेको र तत्काल कुनै पनि स्थानका बारेमा निर्णय गरिनसकेको स्पष्ट पारेका छन । सामाजिक सञ्जानमा ल्याण्डफिल साइडका स्थानका बारेमा विभिन्न धारणा सार्वजनिक भएपछि प्रमुख आचार्यले तत्काल कुनै निर्णय नभएको भनि स्पष्ट पारेका हुन ।

उनले ल्याण्डफिल्ड साइटको विषयमा महानगर निकै गम्भीर भएको र छिट्टै स्थानको टङ्गो लगाउने समेत बताए । उनले अब बन्ने ल्याण्डफिल्ड साइट व्यवस्थित तवरबाट प्रशोधन केन्द्रसहित राखिने त्यस विषयमा सार्वजनिक सुनुवाइ नै गरेर जानकारी दिए । पोखराको फोहर व्यवस्थापनदेखि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्मका महत्वपूर्ण कुरा सबै पोखरेलीको साझा विषय भएकाले सबैको साथ र समर्थन आवश्यकपर्ने उनको भनाइ छ ।

राजनीतिक दल, स्थानीय सामाजिक सङ्घ संस्था, नागरिक समाज सबैले यसको अपनत्व लिने गरी महानगरले काम गर्न उनको भनाइ छ । आचार्यले भौतिक निर्र्माण सम्पन्न भएको विमानस्थलमा क्यालिब्रेसन फ्लाइटको अन्तिम तयारीका लागि हाल रिठ्ठेपानीडाँडा कटानको काम भइरहेको बताए ।

डाँडाको माटोले ल्याण्डफिल साइट पुर्ने र तत्काल अल्पकालीन र केही दीर्घकालीन रुपबाट ल्याण्डफिल्ड साइटको व्यवस्थापन गरिने उनको भनाइ छ ।विमानस्थल नजिक रहेको ल्याण्डफिल साइटका कारण गिद्धलगायत चराको आवागमन बाक्लो रहेको र यसले उडानलाई प्रभावित गर्ने विज्ञहरुले बताउँदै आएका छन् ।

केही दिन अघिमात्र उक्त विमानस्थलको रनवेमा गिद्ध बस्दै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।