कञ्चनपुरमा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति बन्दै


     एभरेस्ट आवाज    
     मंसिर २३ गते २०७७ मा प्रकाशित




कञ्चनपुरमा नेपाल आमाको ७५ फिट अग्लो मूर्ति बन्ने भएको छ।

भीमदत्त नगरपालिका–८ तिलाचौरस्थित भम्केनी धार्मिक पर्यटकीय क्षेत्र निर्माणको कार्य अगाडि बढाइएको छ।

मूर्ति निर्माणका लागि भ्याली कन्स्ट्रक्सनसँग १० करोड ८१ लाखमा ठेक्का सम्झौता गरिएको छ। ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले मूर्तिको नमूना तयार गरी कार्य अगाडि बढाएको छ।
निर्माण कम्पनीले नेपाल आमाको निर्माण हुने मूर्तिका तीन वटा नमूना तयार गरेको छ।

काठमाडौंको विज्ञ टोलीले मूर्तिको नमूनाको अवलोकन, अध्ययन र विश्लेषण गरी तयार गरेको प्रतिवेदनका आधारमा मूर्तिका एउटा मूर्ति निर्माणका लागि छनोट गरिनेछ।

मूर्तिको फाउन्डेसनमा बन्ने कमलको फूललगायतको संरचना निर्माणको कार्य निर्माण कम्पनीले पूरा गरेको छ। सम्झौता भएको साढे तीन वर्षभित्र मूर्ति निर्माण गर्नुपर्ने छ। बालसन्त जगद्गुरुले नेपाल पैदलयात्रा गरेर संकलन गरेको २ करोड, भीमदत्त नगरपालिकाले ५० लाख, प्रदेश सरकारले ५० लाख र संघीय सरकारले ५० लाख मूर्ति निर्माणका लागि लगानी गर्नेछ।

अष्टधातुबाट बनाइने नेपाल आमाको मूर्ति निर्माणका लागि २५ टन तामा आवश्यक पर्ने र अहिले २२ टन मात्रै तामा रहेको छ। साढे तीन वर्षमा मूर्ति निर्माण हुने छ। निर्माण कम्पनीले भने २ वर्ष ९ महिनामा मूर्ति निर्माण गरिसक्ने योजना बनाएको छ। मूर्ति निर्माणका लागि विभिन्न प्रकृतिका १२ हजार श्रमिक लाग्नेछन्।

तीन रोपनी जग्गामा मूर्ति निर्माण गरिने छ। मूर्तिको दाँयाबाँया गाई र बाघको मूर्ति, नेपालको नक्सा, नेपालका राष्ट्रिय प्रतीक चिह्न र नेपालको सबै तीर्थको प्रतिनिधित्व हुने गरी संग्रहालयसमेत निर्माण गरिने छ।

चार वर्षअघि जगद्गुरु मोहनशरण देवाचार्यले भम्केनी धामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउका लागि मौनव्रतदेखि नेपालभर पैदल भ्रमण गर्नुभएको थियो।




सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।