पर्यटकीयस्थलको प्रचारप्रसारका लागि गीतको सहारा


     एभरेस्ट आवाज    
     मंसिर २३ गते २०७७ मा प्रकाशित




पर्यटकीयस्थलको प्रचारप्रसारका लागि गीतको सहारा लिन थालिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित पर्यटकीयस्थल भुजिकोटको प्रचारप्रसारका लागि गीतको सहारा लिइएको हो । दुलेगौँडास्थित शुक्लागण्डकी एफएमका निवर्तमान अध्यक्ष नारायणकुमार श्रेष्ठको शब्द रहेको ‘आउ है भुजिकोट’ को अडियो सार्वजनिक भएको छ ।

गीतको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै आन्तरिक पाहुनालाई निम्तो दिन गीत सार्वजनिक गरिएको श्रेष्ठले बताउनुभयो । उक्त गीतमा गायिका अजुदा थापाले स्वर भर्नुभएको छ भने सन्तोष प्रधानले सङ्गीत दिनुभएको छ । प्रकृतिको सौन्दर्यमा छैन कुनै खोट माया लाउने भए साइँला आऊ है भुजिकोट उत्तर हेर्यो महानगर, सातै तालको शहर दक्षिणतिर नागबेली शुक्ला नदी लहर पात बजाई बोलाउँछ, लाँकुरीको बोट माया लाउने भए साइँला आऊ है भुजिकोट मुस्काउँछ हिमचुली, मगमगाउँछ बुंकी फेवा, रूपा, बेगनासले हेर्छ लुकीलुकी झुल्किदिन्छ एकैसाथ लेक, बेँसी, भोट माया लाउने भए साइँला आऊ है भुजिकोट बन्केवाको उकालीमा, दगामकी सानी हुलका हुल देख्छु भन्छे भ्यूटावर जानी सूर्योदय हेर्नलाई जाउँला स्थानथोक माया लाउने भए साइँला आऊ है भुजिकोट यस ठाउँबाट कास्की जिल्लामा रहेका सातवटै ताल अवलोकन गर्न सकिन्छ ।

यहाँ दृश्यावलोकन स्तम्भसमेत निर्माण भएको छ । साथै यहाँबाट माछापुच्छ«े, अन्नपूर्ण, धवलागिरि, मनास्लुलगायतका हिमालको दृश्य अवलोकन गर्न सकिन्छ । तनहुँ उद्योग वाणिज्य सङ्घ दुलेगौँडा बजार एकाइको समन्वयमा पर्यटक आकर्षित गर्ने उद्देश्यले उक्त ठाउँमा रु १३ लाखको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको छ । स्तम्भ निर्माणका लागि विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गरेका छन् ।

स्तम्भबाट रातको समयमा पोखरा, लेखनाथ र तनहुँकै खैरेनीटारलगायतका क्षेत्रमा झिलीमिली बत्ती बलेको हेर्न पनि पर्यटक आकर्षित हुने गरेको स्थानीयवासी तीर्थराज खनालले बताउनुभयो । सूर्यास्त र सूर्योदयको दृश्यावलोकनका लागि पनि भुजिकोट प्रख्यात छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।