गाउँगाउँमा पुगेको सिंहदरबार उल्ट्याउन दिइन्न : अध्यक्ष प्रचण्ड


     एभरेस्ट आवाज    
     मंसिर ९ गते २०७९ मा प्रकाशित




काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गाउँगाउँमा पुगेको सिंहदरबारको अधिकार उल्ट्याउने चेस्टालाई कुनै पनि हालतमा पूरा हुन नदिने बताए ।

गोरखा सदरमुकाममा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको धन्यवादसभामा उनले झण्डै ७५ वर्ष लामो सङ्र्घषबाट प्राप्त लोकतान्त्रिक अधिकारलाई खोस्न नदिइने बताए ।

देश दुर्घटनातिर जाने होकी भन्ने आशङ्का यतिबेला सबैमा पैदा भएको भन्दै अध्यक्ष प्रचण्डले अब राजनीतिक नेतृत्वले फरक ढङ्गबाट गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको बताए । “राजनीतिक दलका नेतालाई गाली गर्ने स्थिति सहन सकिन्थ्यो”, उनले भने, “देश भूमरीमा पर्ने स्थिति स्वीकार्य छैन ।”

उनले निर्वाचन सफल भए पनि गठबन्धनमा अपेक्षा गरेअनुसार परिणाम नआएको उल्लेख गरे । अध्यक्ष प्रचण्डले निर्वाचनका बेला आएर आफूले गरेको प्रतिबद्धता पूरा गरेरै छाड्ने बताए । उनले भने, “मैले गोरखामा आएर उम्मेदवारी दिँदै गर्दा विभिन्न समयमा जनताको अगाडि गरेका कबुल पूरा गर्नेछु । सुशासन र समृद्धि राजनीतिक परिवर्तनको दिगोपनका लागि नयाँ काम थाल्नेछु ।”

अध्यक्ष प्रचण्डले गोर्खाली जनताले मत दिएर फेरि सिंहदरबार प्रवेश गर्दै गर्दा आफूलाई नयाँ जिम्मेवारी र गौरव अनुभूति भएको बताए । “गोर्खाली जनताले दिएको जिम्मालाई मैले आफ्नो जीवनको अन्तिम अवसरमा रुपमा लिएको छु”, उनले भने, मैले आफ्नो सम्पूर्ण तागत विकास, समृद्धि र सुशासनको अभियान खर्च गर्नेछु ।” रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।