साङ्केतिक तस्विर ।
काठमाडौँ उपत्यका बाहिरका धेरै जिल्लाबाट उपत्यका भित्रिने नाकाका रूपमा रहेको सूर्यविनायक–धुलिखेल सडक विस्तार शुरु हुनसकेको छैन । एक दशक पहिले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले तीनकुने–सूर्यविनायक सडक छ लेनमा विस्तार गरेको थियो ।
जाइकालले नै सूर्यविनायक–धुलिखेल सडकसमेत विस्तार गर्ने भनिए पनि त्यसमा निर्णय भएर काम हुन नसकेको हो । सडक विभागको अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेल सडक र विपी राजमार्गको धुलिखेलबाट सिन्धुली हुँदै बर्दिवास सडक गरी सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजना रहेको छ ।
सो आयोजनाले सूर्यविनायकदेखि धुलिखेल सडकमा निर्माण वा विस्तारको काम नगरेको आयोजना प्रमुख सूर्यबहादुर भाटले बताउनुभयो । अहिले डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गका विभिन्न खण्डमा मर्मतको काम गरिरहेको छ । उहाँले भन्नुभयो, “विस्तारका लागि योजना बनेपछि मात्रै हामीले काम गर्नैछौँ ।” झण्डै एक दशक पहिलेदेखि नै यो सडक विस्तारका लागि छलफल भइरहे पनि निर्णय हुन नसकेको हो ।
जाइकाले यो सडकमा पूर्व अध्ययनसमेत गरिसकेको छ । अध्ययनको लामो समय बितिसक्दा पनि निर्माणका लागि सम्झौता नभएकाले विस्तृत अध्ययन हुनसकेको छैन । गत वर्ष जाइकाले कोटेश्वर–जडीबुटी सडकमा ‘अण्डरपास’ निर्माण गर्ने गरी छलफल हुँदा विभागले त्यससँगै यो सडकको विस्तारका लागि समेत प्रस्ताव गरेको थियो ।
वाग्मती प्रदेश र प्रदेश नं २ का जिल्लाबाट समेत काठमाडौँ भित्रिने नाकाका रूपमा यो सडक रहेको छ । अरनिको, विपी राजमार्गसँगै मध्यपहाडीलगायतका राजमार्गसमेत सञ्चालनमा आएसँगै काभ्रेपलाञ्चोकको बनेपाबाट भक्तपुरसम्म सवारी चाप बढिरहेको छ । यस सडकमा साँझको समयमा सवारी साधनले उपत्यका भित्रिन घण्टौँ जाममा बस्नुपर्ने अवस्था छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







