एसियाली पावर हाउस जापान कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।
समूह ‘ई’ मा रहेको जापानले अन्तिम खेलमा बलियो प्रतिस्पर्धी स्पेनलाई हराउँदै नकआउट चरणमा स्थान बनाएको हो।
समूहमा ६ अंक जोडेर समूह विजेता बन्दै जापान नकआउट चरणमा पुगेको हो। समूहमा ४ अंक जोडेको स्पेनले पनि उपविजेता बन्दै नकआउट चरण पुग्यो।
खालिफा अन्तर्राष्ट्रिय रंगशालामा बुधबार राति भएको खेलमा जापानले स्पेनलाई २–१ ले हराएको हो।
जापानको जितमा रित्सु डोन र एओ टानकाले १/१ गोल गरे भने स्पेनका लागि अल्भारो मोराटाले गोल गरे।
सुरुवाती अग्रता लिएको स्पेनविरुद्ध जापानले खेललाई उल्ट्याउँदै जित हात पारेको हो।
मोराटाले खेलको ११ औं मिनेटमा स्पेनका लागि गोल गरे।
पहिलो हाफमा पछि परेको जापानका लागि खेलको ४८ औं मिनेटमा रित्सुले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याउन सफल भए। त्यसको ३ मिनेटभित्रमै टानकाले निर्णायक गोल गरे।
जर्मनी बाहिरियो
समूहको अन्तिम खेलमा जित हात पारेपनि जर्मनी विश्वकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।
बिहीबार रातिको खेलमा कोस्टारिकालाई ४–२ गोलले पराजित गरेपनि समूह ‘ई’ को अंकतालिकामा तेस्रो स्थानमा रहेको जर्मनी यस संस्करणको प्रतियोगिताबाटै बाहिरिएको छ। समूह चरणका खेलमा जर्मनीले ४ अंकमात्रै जोड्यो।
गए रातिको खेलमा जर्मनीका लागि काई हार्भट्जले २, सेर्जी निजाब्री र निकोलस फुल्करुगले १/१ गोल गरे।
उता, कोस्टारिकाका लागि यल्त्सिन तेजेडा र जुआन पाब्लो भेर्गासले गोल गरे।
खेलको १० औं मिनेटमा जिनाब्रीको गोलबाट सुरुवाती अग्रता लिएको जर्मनीले पहिलो हाफसम्ममा अग्रतालाई कायम राख्न सफल रह्यो।
खेलको ५८ औं मिनेटमा कोस्टारिकाका लागि तेजेडाले बराबरी गोल गरे। ७० औं मिनेटमा भेर्गासले गोल गर्दै कोस्टारिकालाई अग्रता दिलाए।
७३ औं मिनेटमा हार्भट्जले गोल गर्दै जर्मनीलाई बराबरीमा पुर्याए। ८५ औं मिनेटमा हार्भट्जले नै गोल थप्दै जर्मनीलाई अग्रता दिलाए। खेलको इञ्जूरी समयमा फुल्करुगले गोल गर्दै जर्मनीलाई जित दिलाए। समूहको अन्तिम खेलमा कोस्टारिकामाथि जित निकालेपनि जर्मनी नकआउट चरण पुग्न सकेन।
मोरक्को र क्रोएसिया नकआउट चरणमा
फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एफ’ बाट मोरक्को र क्रोएसिया नकआउट चरणमा प्रवेश गरेका छन् भने बेल्जियम र क्यानडा जारी प्रतियोगिताबाट बाहिरिएका छन्।
समूह चरण अन्तर्गत आज राति भएको अन्तिम खेलपछि ७ अंकसहित मोरक्को समूह विजेता र ५ अंकसहित क्रोएसिया समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्न सफल भए। ४ अंक जोडेको बेल्जियम र शून्य अंकमा रहेको क्यानडा समूह चरणबाटै बाहिरिए।
कतारको अल थुमामा रंगशालामा समूह ‘एफ’ अन्तर्गत आज राति भएको खेलमा अफ्रिकी राष्ट्र मोरक्कोले क्यानडालाई २–१ गोलअन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गर्न सफल रह्यो।
खेलको सुरुआती समयदेखि दबाब बनाएको मोरक्कोले खेलको चौथो मिनेटमा अग्रता लिन सफल भयो। मोरक्कोका लागि हाकिम जिएचले करिब २५ यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुम्यो।
त्यस्तै, खेलको २३ औँ मिनेटमा मोरक्कोले अग्रता बढायो। मोरक्कोका अक्रफ हाकिमीको लामो पासलाई युसुफ एन नेसरीले गोलमा परिणत गरे। त्यसपछि खेलको ४० औं मिनेटमा मोरक्कोका नाएफ अगुएर्डले आत्मघाती गोल गरेपछि क्यानडा खेलमा फर्कियो। साम अडेकुग्बेको क्रस अगुएर्डलाई लाग्दै गोल भएको थियो। त्यसपछि थप गोल हुन सकेन।
कतारको अहमद बिन अली रंगशालामा आज राति नै भएको समूह एफ कै अर्को खेलमा क्रोएसिया र बेल्जियमबीचको खेल गोलरहित बराबरीमा टुंगिदा अंकका आधारमा बेल्जियम जारी प्रतियोगिताबाट बाहिरिएको छ।
बेल्जियमले ३ खेलबाट ४ अंक जोड्यो भने समूह चरणका ३ खेलमा कुनै अंक नजोेडेको क्यानडा समूहमा अन्तिम स्थानमा रहँदै जारी संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताबाटै बाहिरियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







