बागलुङ नगरपालिकाले अव्यवस्थित पोल हटाउने क्रमसँगै बजारमा अव्यवस्थित रुपमा राखिएका ठेलागाडा नियन्त्रणमा लिन थालेको छ । बजारमा सवारी चापसँगै बढेको जाम हटाउन जथाभावी राखेर व्यापार गरिएका ठेलागाडा, फुटपाथ ढाकेर राखिएका व्यापारिक सामान, अलपत्र छाडिएका निर्माण सामग्री तत्काल हटाउन चेतावनी दिएको बानपा–२ का वडा सदस्य तथा अव्यवस्थित तारपोल हटाउने समितिका सदस्य अर्जुन घिमिरेले बताउनुभयो ।
ठेलागाडा उठाउन थालेपछि कतिपयले भागाभाग गरेर लुकाएका थिए । घर छेउमा फालिएका फोहोर, ढुङ्गामाटो र गिट्टी समेतले आवागमनमा असर पुगेको स्थानमा नगरपालिकाको ट्र्याक्टरमा सामान उठाएको छ । केहीले सडकमा अव्यवस्थित छाडेका अन्य व्यपारिक प्रयोजनका घुम्ती पसल र काठका बाकससमेत उठाइएको हो ।
सदरमुकामस्थित बागलुङ बजारमा तीन सयभन्दा बढी ठेलागाडा भएको अनुमानपछि यो काम थालिएको घिमिरेले जानकारी दिनुभयो । ठेलागाडामा राखेर कर नतिरेका तथा अव्यवस्थित रुपमा राखेर सामान बेचेको भेटिएपछि नगरपालिकाले नियमन गर्न थालेको थियो ।
उद्योग वाणिज्य सङ्घले पनि कर नतिरेका सामान ठेलागाडामा राखेर जथाभावी बेच्दा कर तिर्नेलाई मर्का परेको गुनासो गरेको थियो । त्यस्तै सडक अवरुद्ध हुने गरी उनीहरुले सामान राख्दा ट्राफिक जाम बढेको थियो । यस्तै, नगरपालिकाले ५० बढी अव्यवस्थित पोल पनि हटाएको छ ।
विद्युत्का पोल नगरपालिकाले आफँै व्यवस्थापन गर्दैछ भने टेलिकमको पोल भए टेलिकमले नै व्यवस्थापन गरिरहेको छ । आगामी पुसमा हुने नगर परिषद्मा कार्यविधि बनेर कार्यान्वयनमा आउने उहाँले जानकारी दिनुभयो । बागलुङ बजारमा फुटपाथ छैन ।
साँघुरो सडक, दायाँबायाँ सवारी साधन रोकिदिने र निर्माण सामग्रीसमेत जथाभावी राखिदिँदा पैदलयात्रीले पनि सास्ती खेपेका छन् भने दुर्घटनाको जोखिम बढेको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







