लैङ्गिक हिंसा विरुद्धमा सचेतना र्‍याली


     एभरेस्ट आवाज    
     मंसिर २१ गते २०७९ मा प्रकाशित




सामुदायिक वन उपभोक्ता महासंघ नेपालले लैङ्गिक हिंसा न्यूनीकरणको लागि राष्ट्रव्यापी रुपमा १६ दिने अभियान संचालन गरेको छ।

‘सभ्य समाजको पहिचान: लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने मूल नारासहित संचालित अभियानमा अन्तर्गत सचेतना र्‍याली, अन्तरकृया, कोणसभा गर्दै आएको हो।

कास्की जिल्ला महासंघको आयोजना तथा फुर्केटारी सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा पोखरा २५ हेमजामा र्‍याली तथा कोणसभाको आयोजना गरियो।

समाजमा हुने शारिरीक, मानसिक, यौनजन्य, आर्थिक र सामाजिक तथा सांस्कृतिक लगायतका बिभिन्न हिंसा विरुद्धमा सिंगो समाज एकताबद्ध भएर लाग्नु पर्नेमा सभाका बक्ताहरुले जोड दिएका थिए।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य एवं जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता कुमालले लैङ्गिक हिंसा समाजको विकासको वाधक भएको बताउँदै यसको अन्त्यका लागि सामूहिक प्रयास आवश्यक रहेको बताइन्।

महासंघका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख हरिप्रसाद बास्तोला र गण्डकी अध्यक्ष कालिदास सुवेदीले घरघरमा हुने हिंसालाई लुकाउन नहुनेमा जोड दिंदै लैङ्गिक हिंसारहित समाज निर्माणमा सवैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे।

जिल्ला महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सचिव पार्वती अधिकारी सुवेदी, फुर्केटारी सामुदायिक वन समुहका सचिव रमा त्रिपाठी लगायतले लैङ्गिक हिंसाविरुद्धमा संगठित भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे।

त्यसअघि लैङ्गिक हिंसा तथा सामुदायिक वन अधिकारका बारेमा लेखिएका प्लेकार्ड सहितको र्‍यालीले हेमजा बजार परिक्रममा गरि मध्येपहाडी लोकमार्गको मिलनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।