बाटुलेचौरमा ज्येष्ठ नागरिक दीवा सेवा केन्द्र सञ्चालन गर्ने तयारी

- मुख्यमन्त्रीबाट भवन शिलान्यास


     एभरेस्ट आवाज    
     मंसिर २७ गते २०७७ मा प्रकाशित




पोखराको बाटुलेचौरमा ज्येष्ठ नागरिक दीवा सेवा केन्द्र सञ्चालन हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौरस्थित बडहरबोट पोलगैह्रामा श्रवणकुमार ज्येष्ठ नागरिक दीवा केन्द्र सञ्चालन गर्ने तयारी गरिएको हो । श्रवणकुमार गृह ज्येष्ठ नागरिक दीवा सेवा केन्द्र सञ्चालक समितिबाट सञ्चालन हुने सेवा केन्द्रका लागि आवश्यक पर्ने भवन निर्माणको शनिबार शिलान्यास गरिएको छ । भवन निर्माणको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शिलान्यास गरे ।

वातावरण संरक्षण क्लव बाटुलेचौरले सञ्चालन गरेको बहुउद्धेश्यीय ईन्डुअर खेलकुद मैदानको पूर्वपट्टीको सार्वजनिक जग्गामा निर्माण गरिन लागेको सेवा केन्द्र भवन ३ करोड लागतमा निर्माण गरिन लागेको श्रवणकुमार गृह ज्येष्ठ नागरिक दीवा सेवा केन्द्र सञ्चालक समितिका अध्यक्ष दानबहादुर बानियाले जानकारी दिए । २ सय जना अटाउने क्षमताको भवन ३ तले हुने उनले बताए । भवनको पहिलो तलामा स्वास्थ्य परीक्षण कक्ष, दोश्रो तलामा वृद्ध तथा वृद्धाहरुका लागि अध्ययन स्थलसहित भजन, किर्तन, प्रवचन कक्ष तथा योगा स्थल हुनेछ भने तेश्रो तलामा कार्यालय रहने अध्यक्ष बानियाले बताए ।

घरमा बसेर कुनैपनि वृद्धवृद्धाले एक्लो महशुष नगरुन भन्ने उद्धेश्यले सञ्चालन गर्न लागिएको ज्येष्ठ नागरिक दीवा सेवा केन्द्रमा ६० वर्ष माथिकाहरुले मात्र प्रवेश पाउने जनाइएको छ । विहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने सेवा केन्द्रमा खाजाको ब्यबस्था सेवा केन्द्रले नै गर्ने अध्यक्ष बानियाले बताए । जसका लागि १ करोडकाे छुट्टै अक्षयकोष स्थापना गरिने उनले बताए ।

भवन निर्माणका लागि आवश्यक पर्ने ३ करोड मध्ये १ करोड रुपैयाँ पोखरा महानगरपालिकाले दिने बचन दिइसकेको अध्यक्ष बानियाले जानकारी दिए । त्यस्तै गण्डकी प्रदेश सरकारले १ करोड दिने अपेक्षा गरिएको उनको भनाई छ । १० लाख रुपैयाँ कास्की २ की प्रतिनिधि सभा सांसद विद्या भट्टराईले छुट्याई दिईसकेको र प्रदेश सांसद विन्दुकुमार थापा लगायतलेपनि केहि रकम दिने बचन दिएको उनले बताए । बाँकी रकम नागरिक स्तरबाट संकलन गरिने अध्यक्ष बानियाको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।