पोखरा । पोखरेली गायिकाहरुको संस्था हार्मोनी पोखराको आयोजनामा चौथो सँस्करणको साँगीतिक कार्यक्रम “टेस्ट अफ हार्मोनी” हुने भएको छ । पुस २९ गते शुक्रबार पोखरा सभागृहमा हुने पछिल्लो सँस्करणको यो साँगीतिक कार्यक्रमको विशेष आकर्षणको रुपमा गायिका दीपानारायण झा रहनेछिन् । “हार्मोनी”ले दीपाप्रति सम्मान प्रकट गर्दै चौथो सँस्करणको आफ्नो कार्यक्रमको नाम नै “धुनहरुमा दीपानारायण झा” राखेको छ ।
सदावहार गायिकाको छवि बनाएकी दीपानाराण झाले हार्मोनी पोखराको यो साँगीतिक कार्यक्रममा आफ्ना पुराना गीतहरु प्रस्तुत गर्नेछिन् । ‘पोखरेली संगीतप्रेमीहरुका लागि यो निकै गज्जब र उत्साहपूर्ण कुरा हो । विशेषगरि पोखरेली गायिकाहरुका लागि त झन् यो विशेष कार्यक्रमले ठुलो अर्थ राख्नेछ ।’ हार्मोनी पोखराका अध्यक्ष ईतु जोजिजुले भनिन्, समग्र पोखराको लागि पनि यो साँगीतिक कार्यक्रम फलदायी हुने कुरामा हामी ढुक्क छौँ ।” दीपानारायण झासँग स्टेज शेयर गर्दै उनले गाएका चर्चित सदावहार गीतहरु गाउने मौका पोखरेली गायिकाहरुले पाउनु भनेको ऐतिहासिक कुरा भएको जोजिजुले भनिन् । पुस २९ गते हुने साँगीतिक कार्यक्रममा दीपानारायण झासँगै पोखरेली गायिकाहरु ईतु जोजिजु, शितल थापा, अजुदा थापा, कौशल्या गुरुङ, मितु पाल सिंह, लक्ष्मी गिरी, प्रतिक्षा देवकोटा, देवी गुरुङ, रजनी ऋदम राई, प्रिया गुरुङ र प्रकृति श्रेष्ठले स्टेज शेयर गर्दै आफ्नो प्रस्तुती दिनेछन् ।
सो कार्यक्रममा विशेष सहयोगी गायकको रुपमा रामभक्त जोजिजु, विनोद बानियाँ, सन्तोष बस्याल, ज्ञान थापा र मिलन तमुको प्रस्तुती रहने हार्मोनी पोखराले जनाएको छ ।
कुसुमे रुमाल, चिया बारीमा, ईशाराले बोलाउनु पर्दैन, मोहनी माया, उकालीमा अघि अघि, सम्झना बिर्सना लगाएतका दर्जनौ दीपानारायण झाले गाएका गीतहरु सो कार्यक्रममा प्रस्तुत गरिने आयोजकले बताएको छ ।
खासगरि साँगीतिक क्षेत्रमा महिलाहरुको पनि बलियो उपस्थिती देखाउन “हार्मोनी पोखरा” को स्थापना भएको हो । र, संस्था गठन भएसँगै यसले विभिन्न कार्यक्रमहरु समेत गरिसकेको छ । यसअगाडि ‘लेजेन्डरी हार्मोनियस इभिनिङ’, ‘टेस्ट अफ हार्मोनी’ र “धुनहरुमा तारादेवी र अरुणा लामा” गरि संस्थाले तीनवटा सँस्करणका विशेष साँगीतिक कार्यक्रमहरु सफल बनाईसकेको छ । गायिकाहरुको एकतासँगै नयाँ पुस्ताका गायिकाहरुको लागि प्लेटफर्म तयार गर्न पनि यो संस्था विशेष रुपमा सकृय रहँदै आएको छ । गायिकाहरुको क्षेत्रमा विशेष ध्यान दिएर काम गर्ने संस्थाले यो बीचमा थुप्रै सम्मान तथा पुरस्कारहरु पनि पाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको लेकसाइडस्थित होटल ल्याण्डमार्कले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ५४ यूनिट रगत संकलन…







