संवैधानिक परिषद्को बैठकमा देउवा नजाने, बैठक स्थगित हुनसक्ने


     एभरेस्ट आवाज    
     मंसिर २७ गते २०७७ मा प्रकाशित




काठमाडौँ । आइतबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित नहुने भएका छन् ।


संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बोलाएको बैठकमा देउवा सहभागी नहुने जानकारी परिषद्लाई गराइएको छ ।

विभिन्न संवैधानिक निकायमा रिक्त पदमा पदपूर्तिको लागि संवैधानिक परिषद्का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीको अह्वानमा आइतबार संवैधानिक परिषद्को बैठक बस्न लागेको हो ।


कांग्रेस स्रोतका अनुसार यही मंसिर २९ गते कांग्रेसले सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शनको कार्यक्रम राखेको कारण देउवाले सहयोगीमार्फत् त्यसअघि बस्ने संवैधानिक परिषद्को बैठकमा उपस्थित नहुने सन्देश पठाएका छन् ।


तर, संवैधानिक परिषद्मा विपक्षी दलको नेता अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था भएकाले विपक्षी दलको नेता उपस्थित नहुने भएपछि बैठक स्थगित हुने सम्भावना छ ।
कांग्रेस नेता रमेश लेखकले आइतबार बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित हुनसक्ने बताएका छन् ।


अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न संवैधानिक निकायमा प्रमुख र सदस्य गरी ४६ पद खाली छन् ।

लामो समय पदाधिकारीविहीन भएपछि प्रधानमन्त्री ओलीले परिषद बैठक बोलाउन कांग्रेस सभापति देउवासँग शुक्रबार छलफल गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।