चरक मेमोरियल हस्पिटलमा एक लाखसम्मको उपचार निःशूल्क


     एभरेस्ट आवाज    
     माघ १० गते २०७९ मा प्रकाशित




माघ १० पोखरा । पोखराको चरक मेमोरियल अस्पतालले दुर्घटनाबाट टाउको तथा मेरुदण्डमा लागेको चोटपटकको एक लाखसम्मको औषधोपचार निःशूल्क गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विपन्न स्वास्थ्य कार्यक्रम अनुसार दिइँदै आएको टाउको तथा मेरुदण्ड, ढाडको दुर्घटना भएर वा अन्य कारणले भएको चोटपटकको उपचारका लागि पोखरा–८ नागढुङ्गास्थित चरक मेमोरियल हस्पिटलमा एक लाखसम्म निःशूल्क औषधोपचार हुने भएको हो ।

गत असार २३ गतेको मन्त्रीपरिषदले विपन्न कार्यक्रम अन्र्तगत दिइँदै आएको कडा रोगहरुको उपचार खर्च स्वास्थ्य बीमामा आवद्ध गर्ने पहिलो संशोधन कार्यविधी–२०७९ बमोजिम पोखराको चरक मेमोरियल हस्पिटलसहित ११ वटा अस्पताललाई सुचिकृत गरेको थियो ।

सवारी साधन दुर्घटना, घाँस दाउरा गर्दा रुख भिरबाट खसेर लाग्ने चोटपटक तथा प्राकृतिक विपत्तिबाट हुने चोटपटक लगायतका घाइते तथा विरामीले उपचारमा छुट लिन सक्ने भएका हुन् ।

यसका लागि विरामी तथा घाइतेले जिल्ला स्वास्थ्य कार्यालयको सिफारिसलाई सम्बन्धीत पालिकाबाट प्रमाणित निवेदन पेश गरेको आधारमा यस्तो सुविधा लिन सकिने हस्पिटलले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।