कम्युनिस्टले चुनाव जिते रुनपनि दिदैन भन्दा पत्याएनन्, त्यसैको परिणाम अहिले देशले भोग्दैछ : देउवा


     एभरेस्ट आवाज    
     मंसिर ३० गते २०७७ मा प्रकाशित




नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले पहिले नै कम्युनिष्टले चुनाव जितेमा रुनपनि दिदैन भन्दा नेपाली जनताले नपत्याउँदा अहिले त्यसको परिणाम भोग्नुपरेको बताएका छन् । सरकारविरुद्ध हेटौंडामा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले भने,‘मैले त पहिले नै भनेको थिएँ, कम्युनिष्टले जिते भने रुनपनि दिदैनन् भनेर, तर त्यसबेला जनताले पत्याएनन्, अहिले त्यसको परिणाम देशले भोग्दैछ ।’ सभापति देउवाले जनता भोक र रोगले मरिरहँदा प्रधानमन्त्री ओली भने सरकारको प्रगति देखेर अरू आत्तिएको भन्दै भाषण गर्नमै व्यस्त रहेको उनको आरोप छ ।

कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीका कारण राजावादीहरु सल्बलाएको आरोप लगाए । ‘केपी ओली सरकारको गैरजिम्मेवारीपनका कारण ‘राजा आऊ देश बचाऊ’ भन्ने नारा लाग्न थालेको हो’—उनले भने । तर सडकमा नारा लाग्दैमा राजा नआउने भन्दै त्यस्तो भ्रममा नपर्नसमेत आग्रह गरे ।

देउवाले ओली नेतृत्वको कम्युनिष्ट सरकार आएपछि देशमा भ्रष्टाचार, बलात्कारलगायतका घटना बढेको आरोप लगाए । सरकारले दोषिलाई उम्काउने गरेको भन्दै उनले अगाडि भने,‘कम्प्युनिष्ट सरकार आएपछि भ्रष्टाचार, बलात्कारका घटना बढेका छन्, आरोपीहरु उम्किएका छन् ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।