संवैधानिक परिषदको बैठक आजपनि स्थगित


     एभरेस्ट आवाज    
     मंसिर ३० गते २०७७ मा प्रकाशित




संवैधानिक परिषदको बैठक आजपनि स्थगित भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा अनुपस्थित हुने भएपछि हिजो स्थगित बैठक आज विहान बोलाइएको थियो । तर प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटा अनुपस्थित भएपछि आजको बैठकपनि स्थगित भएको हो ।
संवैधानिक परिषदका सदस्यसमेत रहेका सभामुख सापकोटा प्रधानमन्त्री ओलीको कार्यशैलीबाट असन्तुष्ट भएर बैठकमा नगएको उहाँ निकट श्रोतले बताएको छ । अध्यक्ष र सदस्यहरुवीच समन्वयको नभएको बताउँदै सभामुख सापकोटाले प्रधानमन्त्री ओलीलाई आफू नआउने जानकारी गराएको श्रोतको दाबी छ । श्रोतका अनुसार परिषद बैठकका एजेण्डाहरु ४८ घण्टा पहिल्यै सदस्यहरुलाई उपलब्ध गराउनुपर्ने भएपनि एजेण्डा उपलब्ध नगराएपछि सभामुख सापकोटा असन्तुष्ट बनेका छन् । त्यही भएर उनी आजको बैठकमा नगएको श्रोत बताउँछ ।

अख्तियार, निर्वाचन आयोगलगायत विभिन्न संवैधानिक आयोगहरुमा रिक्त रहेका ४५ पदाधिकारीको नियुक्ति गर्ने प्रयासमा प्रधानमन्त्री ओली छन् । त्यसकै प्रयास स्वरुप उनले परिषद बैठक बोलाउँदै आएका छन् । तर बैठक भने बस्न सकेको छैन ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र विपक्षी दलका नेता गरि ६ सदस्य हुन्छन् । परिषद बैठकमा अध्यक्ष रहेका प्रधानमन्त्रीबाहेक नै ४ सदस्यको उपस्थिति अनिवार्य हुनुपर्ने प्रावधान छ । हाल उपसभामुख चयन नभईसकेकाले परिषदमा ४ जना सदस्य रहेकाले सबैको उपस्थिति अनिवार्य छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।