नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारले ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन दिने तयारी गरेको छ । सरकारले अध्यादेश जारी गरेलगत्तै बुधबार साँझ बसेको नेकपाको बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठकमा अध्यादेश फिर्ता लिन सरकारलाई दिने सहमति भएको उच्च श्रोत बताउँछ । नेकपामा प्रचण्ड-माधव पक्षको बहुमत छ ।
नेकपाको स्थायी कमिटी बैठक विहीबार बस्दैछ । सो बैठकले ओली सरकारलाई अध्यादेश फिर्ता लिन निर्देशन दिने निर्णय गर्ने श्रोतको दाबी छ । नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा छलफल नै नगरी अध्यादेश ल्याएपछि असन्तुष्ट बनेका पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठको अनौपचारिक बैठकले अध्यादेश फिर्ता लिन निर्देशन दिने समझदारी गरेको हो ।
प्रचण्ड निवास खुमलटारमा भएको भेलापछि पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा बरिष्ठ नेता माधव नेपालले सरकारले हठातमा अध्यादेश ल्याएकाले फिर्ता लिनुपर्ने बताए । अध्यादेश ल्याउनु गलत भएको भन्दै उनले भने,‘अध्यादेश तुरुन्त फिर्ता हुनुपर्छ ।’ उनले विश्वास जितेर सरकारले निर्णय गर्नुपर्ने भन्दै विहीबारको स्थायी कमिटी बैठकले यसबारे थप निर्णय गर्ने बताए ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलेपनि अध्यादेश फिर्ता लिनुपर्ने बताए । उनले भने,‘अध्यादेश फिर्ता लिनुको विकल्प छैन ।’ उनलेपनि अध्यादेशबारे विहीबार बस्ने स्थायी कमिटी बैठकले निर्णय गर्ने बताए ।
भ्रष्टाचार बढाएको, एकलवादी भएको, पार्टीको निर्णय नमानेकोलगायतका विषयमा पार्टीभित्रै चर्को आलोचना र दबाब झेलिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएपछि नेकपामा विवाद झन् उत्कर्षमा पुगेको छ । यो विवादले पार्टी विभाजनकै स्थितिमा पुग्ने विश्लेषणसमेत गर्न थालिएको छ ।
नेकपाका बहुमत सचिवालय सदस्यले अध्यादेश फिर्ता गर्न प्रधानमन्त्री केपी ओलीलाई निर्देशन दिने समझदारी गरेका छन् । बुधबार स्थायी कमिटी बैठक बस्दै छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







