अहिले सत्तामा जानु भनेको कांग्रेसका लागि आत्महत्या हो : केसी


     एभरेस्ट आवाज    
     पौष १ गते २०७७ मा प्रकाशित




नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले नेकपा फुटेपनि कांग्रेस सत्तामा नजाने दाबी गरेका छन् । प्रेस यूनियन कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले कांग्रेस वर्तमान अवस्थामा सत्तामा जानु भनेको आत्महत्या गरेसरह हुने बताएका हुन् । सत्तामा जानु भनेको कांग्रेसका लागि आत्महत्या हो भन्दै उनले भने,‘जनताले प्रतिपक्ष भएर बस भनेर जनमत दिएका छन् । अहिले ३ वर्ष सत्तामा बसेकाहरुले भएभरका फोहोर थुपारेका छन् । त्यो फोहोरमा सहभागि हुन कांग्रेस सत्तामा जाँदैन, प्रतिपक्षकै रुपमा बस्छ ।’ उनले नेकपा फुटिहालेमा कांग्रेसले जो लोकतन्त्रको पक्षमा उभिन्छ उसलाई कांग्रेस बाहिर बसेर समर्थन गर्ने तर सरकारमा भने नजाने उनले प्रष्ट्याए ।

केही समयका लागि पार्टीको नया नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । अहिले लोकतन्त्रको रक्षाका लागि आन्दोलित हुनुपर्ने भएकाले केहि समयका लागि तदर्थ समिति बनाउनुपर्ने भन्दै उनले यो प्रस्ताव आफूले पार्टीको केन्द्रीय समिति बैठकमा राख्ने जानकारी दिए । यस्तो तदर्थ समिति एक डेढ वर्षका लागि बनाउने र त्यसपछि महाधिवेशन गर्नु उपयुक्त हुने उनले बताए ।

नेता केसीले संवैधानिक परिषदको बैठकमा कांग्रेस सहभागि नहुने बताए । जुन लक्ष्यले संवैधानिक परिषदको निर्माण गरिएको थियो अहिले त्यसको सम्पूर्ण मूल मर्ममाथि प्रहार भो, उनले भने,‘त्यसैले यथास्थितिमा नेपाली कांग्रेस परिषद बैठकमा जाँदैन, जानु हुँदैन ।’ उनले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी सरकारले ल्याएको प्रस्ताव अत्यन्त अप्रजातान्त्रिक र निन्दनीय भएको बताए ।

नेता केसीले कांग्रेस आफैले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको बिरुद्धमा जान नसक्ने बताए । पार्टीका महामन्त्रीले हिन्दू राज्यका बारेमा जनमत संग्रह हुनुपर्छ भनेर दिएको अभिव्यक्तिप्रति संकेत गर्दै उनले भने,‘यो पार्टीको आधिकारिक निर्णय होईन, व्यक्तिले आफ्नो धारणा र बिचार राख्न सक्छ, त्यसमाथि पार्टीमा छलफल चल्ला र एउटा निश्कर्ष निकाल्ला ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।