स्याङ्जा । स्याङ्जाको गल्याङ–१ मालुङ्गा उत्तरबाहिनीमा प्राकृतिक चिकित्सालयको भवन निर्माण थालिएको छ । प्राकृतिक चिकित्सा पद्धतिबाट गरिने उपचार प्रभावकारी बन्दै गएपछि दीर्घकालीन रोगका बिरामीलाई सेवा दिने उद्देश्यले चिकित्सालयको निर्माण थालिएको हो ।
चिकित्सालयको बिहीबार नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले शिलान्यास गर्नुहुदै निर्माणाधीन भवन समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले चिकित्सालयको थप व्यवस्थापनका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
आकस्मिक र भाँच्चिएका वा तत्कालै सेवा लिनुपर्नेबाहेकका दीर्घकालीन रोगका बिरामीको उपचारलाई लक्षित गरी चिकित्सालय निर्माण थालिएको कालीगण्डकी प्राकृतिक अस्पतालका संरक्षक एवं कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले बताए ।
एलोपेथिक उपचारभन्दा फरक तरिकाले औषधिको प्रयोगबिना नै विभिन्न रोगको प्राकृतिक पद्धतिद्वारा उपचार गरिने उनले बताए । फिजियोथेरापी, अङ्कुपञ्चर, अङ्कुप्रेसर, मसाज, पञ्चतत्व, योग, स्टिमबाथलगायतका पद्धतिमार्फत बिरामीलाई उपचार गरिने उनले बताए । सहरी विकास मन्त्रालय काठमाडौँ तथा गल्याङ नगरपालिकाको रू दुई करोड १२ लाखको लागतमा चिकित्सालय निर्माण हुने भएको हो ।
आगामी असार मसान्तसम्म निर्माण सम्पन्न हुने उक्त चिकित्सालय पहिलो चरणमा एक तलाको हुनेछ । कुल १२ कोठा र दुईवटा ट्रस हुने अध्यक्ष कृष्णले बताउनुभयो । चिकित्सालय निर्माण भएसँगै उपचारका लागि टाढा–टाढा जानुपर्ने बाध्यता हट्ने भएपछि स्थानीय खुसी छन् ।
उक्त चिकित्सालय कालीगण्डकी नदीको किनारमा अवस्थित ४२ रोपनी क्षेत्रफलमा फैलिएको छ । प्राकृतिक चिकित्सा पद्धतिबाट हुने उपचार विशेषगरी दीर्घकालीन समस्या भएका बिरामीलाई बढी प्रभावकारी हुने गरेकाले आकर्षण बढ्दै गएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







