विश्व क्षयरोग दिवस: बागलुङमा बर्सेनि थपिन्छन् क्षयरोगका बिरामी


     एभरेस्ट आवाज    
     चैत्र १० गते २०७९ मा प्रकाशित




बागलुङ । बागलुङमा हरेक वर्ष क्षयरोगी बिरामी बढ्दै गएका छन् । पछिल्लो तीन वर्ष तथ्याङ्कअनुसार बागलुङमा क्षयरोगको सङ्क्रमण फैलिँदो अवस्था देखिएको हो ।

आर्थिक वर्ष २०७७र७८ जिल्लाभर एक सय ६६ जना क्षयरोगका बिरामी थिए । यो सङ्ख्या बढेर २०७८र७९ मा एक सय ८५ मा पुगेको थियो । चालु आर्थिक वर्षको आठ महिनामा मात्रै जिल्लाभर एक सय २९ जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताए। अघिल्लो वर्ष पहिचान भएकामध्ये केही नियमित औषधि सेवनपछि निको भएका छन् ।

अघिल्लो आर्थिक वर्षमा जिल्लाभर क्षयरोगीको सङ्ख्या एक सय ८५ थियो । तीमध्ये ५६ जना बडिगाडका थिए । साउनयता विभिन्न तहबाट गरिएको परीक्षण तथा पहिचानका क्रममा जिल्लाभर ८७ जना नयाँ सङ्क्रमित पहिचान हुँदा बडिगाडमा मात्रै ३६ जनामा सङ्क्रमण पुष्टि भएको हो । बडिगाड गाउँपालिकामा हरेक वर्ष जनचेतना मुलुक कार्यक्रम, खोजपडताल र नियन्त्रणका कार्यक्रम सञ्चालन गर्दासमेत सङ्क्रमण रोकथाम गर्न कठिन भएको घिमिरेले बताए ।

“पालिकाको तथ्याङ्क केलाउँदा अन्यत्रको सङ्ख्या घटेको छ तर बडिगाडमा भने बढ्दो छ”, घिमिरेले भने, “बिरामीको मृत्युदरसमेत बडिगाडमा बढी छ ।” गत आर्थिक वर्षमा जिल्लाभर छ जना क्षयरोगका बिरामीको मृत्यु हुँदा बडिगाडका चारजना थिए । जिल्लाभरि क्षयारोगको सङ्क्रमणबाट चार प्रतिशत सङ्क्रमितको मृत्यु हुने गरेको छ ।” क्षयरोगको मृत्युदर कहालिलाग्दो अवस्थामा रहेको घिमिरेले बताए ।

बागलुङमा बिरामीमार्फत नै क्षयरोगसम्बन्धी जनचेतना सन्देशहरू प्रवाह गर्नेसमेत गरिएको छ । लामो समयदेखि स्वास्थ्य कार्यालयले गरेको नमूना परीक्षणमा बडिगाडमा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो भेटिएपछि गाउँपालिकाले सक्रिय खोजपडताल विधिद्वारा बिरामी पहिचान थालेको थियो । बिरामीको आधिकारिक तथ्याङ्क सङ्कलनका लागि पालिकाले सञ्चालन गरेको क्षयरोगी पहिचान कार्यक्रमअन्तर्गत आठजना बिरामी फेला परेका थिए ।

“हामीले खोजी गर्दा भेटिने बिरामीभन्दा धेरै सदरमुकामको अस्पताल र केही जिल्ला बाहिरका अस्पतालमा पहिचान भएका छन्”, घिमिरेले भने, “जिल्लाका अन्य पालिकाहरुसमेत ढुक्कले बस्ने अवस्था छैन ।” सरुवा रोग भएकाले क्षयरोगबाट बच्न धेरै व्यवहारमा सजग हुनुपर्ने उनको भनाइ छ ।

फोक्सोको क्षयरोगीले वर्षमा १०र१२ जनामा रोग सार्न सक्छन् । बडिगाडका–२, ४, ५ र ६ मा फोक्सोकै क्षयरोगी धेरै भेटिएकाले खोजपडताललाई सक्रिय बनाउनुपरेको स्वास्थ्य शाखाले जनाएको छ । सङ्क्रमण पुष्टि भएका बिरामीलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा नियमित औषधि खुवाउन थालिएको छ । “श्वासप्रश्वासको माध्यमबाट फैलिने भएकाले हामीले बिरामीलाई सजग रहन र नियमित औषधि सेवन गर्न लगाएका छौँ”, घिमिरेले भने ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।