निर्वाचनले सबैलाई लोकप्रियता परीक्षणको अवसर दिनेछ :प्रधानमन्त्री


     एभरेस्ट आवाज    
     पौष ६ गते २०७७ मा प्रकाशित




प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनले सबैलाई लोकप्रियताको परीक्षण गर्ने अवसर दिने बताउनुभएको छ ।

देशवासीका नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबीचका सबै तीता कुरा बिर्सेर एकताबद्ध भई निर्वाचनमा सामेल हुन सबैलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री हुन हतार गरेका सत्तारुढ दलभित्रका नेतालाई लोकप्रियताको परीक्षण र प्रतिपक्षी दल सबैलाई आआफ्ना कार्यसूची जनतामा लाने अवसर मिल्ने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “जनादेशप्राप्त सरकारले आफ्नो काम गर्न पाउँदैन भने यसकोे न्यायको फैसला गर्ने थलो निर्वाचन नै हो र राज्य सञ्चालनको अन्तिम निर्णय जनताले गर्ने हो । जस्केलाबाट सरकारमा छिर्ने अलोकतान्त्रिक तरिका ठीक होइन । राजनीतिक स्थिरताका लागि निर्णायक तत्व आमनिर्वाचन हो ।

त्यसकारण म प्रतिनिधिसभा विघटन गरी ताजा जनादेश गराउने स्थितिमा पुगेको हुँ ।” उहाँले राष्ट्रियसभा, प्रदेश सरकार र स्थानीय तह कायम रहेको तथा राज्यका सबै अङ्गले आआफ्नो कर्तव्य निर्वाह गरिरहेकाले अहिले मुलुक जनप्रतिनिधिविहीनावस्थामा नरहेको जनाउँदै लोकतन्त्रको रक्षाका लागि एकताबद्ध भई निर्वाचनमा जुट्न युवा पुस्तालाई पनि आह्वान गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका केही नेताप्रति सङ्के्त गर्दै उहाँले प्रश्न गर्नुभयो, “सरकारविरुद्ध यसरी घेराबन्दी र दाउपेच गर्नुपर्ने अवस्था किन आयो ? सरकारले भारतसँग सीमा समस्या समाधानका लागि वार्ताको तयारी गरेको र चीनसँग भएका व्यापार र यातायातसम्बन्धी सम्झौता कार्यान्वयनको काम आरम्भ गरेकामा सहयोग गर्नुपर्ने होइन र ?” उहाँले विषम स्थितिका बीच नेपालले विकासका काममा प्रगति हासिल गरेको जनाउँदै शान्तिसुरक्षा, सुशासन र अन्य क्षेत्रमा प्राप्त सकारात्मक काममा सहयोग हुनाको साटो सधैँैभरि सत्ता र पदीय भागबण्डा हुनु र सरकारविरुद्ध सत्तापक्षका नेता प्रतिपक्षीभन्दा बढी आक्रामक हुनुले ताजा जनादेशमा जानुपरेको स्पष्ट गर्नुभयो ।

नेकपाका अध्यक्ष ओलीले सरकारविरुद्ध भएका चलखेलका काम तथा संसद्लाई बन्दी बनाउने प्रयास कुनै पनि अर्थमा लोकतान्त्रिक हुन नसक्ने बताउनुभयो । उहाँले पार्टीलाई एकताबद्ध बनाउने, विधिवत्रुपमा नेतृत्व हस्तान्तरण गर्ने र सरकार तथा संसद्लाई विधिसम्मत चलाउने आफ्नो योजना असफल बनाइएकाले प्रतिनिधिसभा विघटन हुन पुगेको स्पष्ट गर्नुभयो । यही पुस ५ गते प्रतिनिधिसभा विघटन भई आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभाका लागि नयाँ निर्वाचन मिति तोकिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।