पिपिआर रोगबाट मरे पाँच सय च्याङ्ग्रा


     एभरेस्ट आवाज    
     पौष ८ गते २०७७ मा प्रकाशित




उपल्लो मुस्ताङमा पछिल्लो दुई महिनायता फैलिएको पिपिआर रोगबाट ५०० भन्दा बढी च्याङग्रा मरेका छन् । लोमान्थाङ र दामोदरकुण्ड लोघेकर गाउँपालिकाका कृषकले पालेका च्याङ्ग्रामा पिपिआर रोगको समस्या देखिएको मुस्ताङसमेत कार्यक्षेत्र भएको बेनीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख नारायण कुसुमले दुईवटा पालिकामा ५०० भन्दा बढी च्याङ्ग्रा मरेका जानकारी दिनुभयो । “कात्तिकको दोस्रो हप्तादेखि महामारीका रुपमा फैलिएको पिपिआरले ठूलो क्षति पु¥याएको छ,” उहाँले भन्नुभयो, “कृषकबाट ७०० को सङ्ख्यामा च्याङ्ग्रा मरेको जानकारी आए पनि स्थलगत अध्ययन र निरीक्षणका क्रममा ५०० भन्दा बढी मरेको पाइयो ।

” उहाँका अनुसार मरेका च्याङ्ग्राको स्वाब प्रयोगशालामा परीक्षण गर्दा पिपिआर रोग भएको पुष्टि भएको छ । समयमै सूचना नआउँदा रोग नियन्त्रणमा ढिलाइ भएको कुसुमले बताउनुभयो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मत्स्य तथा पशुपक्षी विकास निर्देशनालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका तीनजना पशु चिकित्सकसहितको प्राविधिक टोलीले प्रभावित क्षेत्रमा पुगेर रोग नियन्त्रणका लागि अभियान सञ्चालन गरेर फर्किएका छन् । बुधबार बेनी फर्किएको टोलीले स्थानीय तह र पशु सेवा शाखासँग समन्वय गरेर भेडाच्याङ्ग्रालाई पिपिआर रोगविरुद्ध खोप लगाएको जनाएको छ ।

बिरामी भेडाच्याङ्ग्राको उपचारका साथै कृषकलाई पिपिआर रोग न्यूनीकरणका उपायबारे गोठमै पुगेर परामर्श दिइएको थियो । लोमान्थाङमा फैलिएको पिपिआर नियन्त्रणमा आइसकेको केन्द्रका प्रमुख कुसुमले बताउनुभयो ।

दामोदरकुण्ड लोघेकरमा नियन्त्रण उन्मुख अवस्थामा छ । औषधि र खोपको व्यवस्थापन गरेर टोली फर्किएको हो । दशैँलगत्तै फैलिएको पिपिआरबाट अधिकांश कृषकले क्षति व्यहोरेका समजुङका कृषक पासाङ छिरिङले बताउनुभयो । “पाठापाठीदेखि वयस्कसम्म सबै उमेर समूहका धेरैजसो कृषकले पालेका च्याङ्ग्रा मरेका छन्”, उहाँले भन्नुभयो, “एउटै च्याङ्ग्रा मर्दा रु २५ हजारको हाराहारीमा क्षति पुग्छ ।

” ५०० च्याङ्ग्रा मर्दा रु एक करोड २५ लाख बराबरको क्षति पुगेको अनुमान गरिएको छ । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायत ठाउँका कृषकले व्यावसायिक च्याङ्ग्रापालन गरेका छन् । दशैँ, तिहार पर्वमा मुस्ताङका कृषकले पालेका च्याङ्ग्रा कास्की, काठमाडाँै, चितवन, म्याग्दी, बागलुङ, स्याङ्जा, तनहुँ, पर्वतलगायत जिल्लामा निकासी हुने गर्छ । हिमाली क्षेत्रको जडीबुटीयुक्त चरन क्षेत्रको घाँस खाएर हुर्किएका च्याङ्ग्राको मासु स्वास्थ्यवद्र्धक र स्वादिलो हुने भएकाले दशँैतिहारमा महँगो परे पनि भेडाच्याङ्ग्राको मासु उपभोग गर्ने चलन छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको जोमसोमस्थित कार्यालयका प्रमुख सुधीर थापाका अनुसार गत दशैँतिहारको याममा मुस्ताङका कृषकले पालेका छ हजार च्याङ्ग्रा निकासी भएको थियो । “विगतका वर्षमा २५ देखि ३० हजार च्याङ्ग्रा निकासी हुने गरेको थियो”, उहाँले भन्नुभयो, “यसपालि कोरोनाका कारण तिब्बत र अन्य जिल्लाबाट नआएकाले मुस्ताङका कृषकले पालेका मात्र निकासी भएको थियो ।”


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।