अन्नपूर्ण आरोहण दिवसका अवसरमा यही जेठ २० गते कास्कीको अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म हुने छैटौँ संस्करणको अन्नपूर्ण म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ ।
अन्नपूर्ण प्रथमको महिमा र गरिमालाई उजागर गर्न विस २०७५ देखि प्रत्येक वर्ष अन्नपूर्ण म्याराथन गरिदैं आएको छ ।अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले छैटौँ संस्करणको म्याराथनको सम्पूर्ण तयारी पूरा भएको समितिका अध्यक्ष एवं म्याराथन संयोजक ललित गुरुङले जानकारी दिए । म्याराथनका लागि १८ वर्षदेखि ६९ उमेर समूहका आठ जना विदेशी र ४५ जना स्वदेशी धावकको सहभागी रहने छ । रिकी योञ्जनले व्यवस्थापकीय संयोजन गरेको म्याराथनमा यस अघिका विजेता तिलकबहादुर सुनारलगायत धावक अन्नपूर्ण आधार शिविर पुगेर पूर्वाभ्यासमा जुटिसकेका छन् ।
हिमाल आरोहणको इतिहासमा पहिलोपटक सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेसँगै विश्वमा हिमाल आरोहणले चासो र चर्चा पाएको थियो । यस म्याराथनमा समुद्री सतहबाट चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट धावकहरु ४२।१९५ किलोमिटर दूरी पूरा गरी घान्द्रुक पुग्ने छन् । समान्यतः तीन दिन समय लगाउने यस पदमार्गमा पहिलो हुने धावकले करिब चार घण्टामा यो दूरी पार गर्नेछन् । यसअघिका पाँचौँ संस्करणसम्म प्रथम हुने धावकले चार घण्टा १६ मिनेटदेखि चार घण्टा २७ मिनेटसम्ममा यो दूरी पार गरेको संयोजक गुरुङले जानकारी दिए ।
त्यस क्षेत्रको पदयात्रामा रहने पहिलो दिन आधार शिविरबाट बम्बो या दोभान, दोस्रो दिन छोम्रोङ र तेस्रो दिन घान्द्रुक आइपुग्ने गरेका छन् । अन्नपूर्ण म्याराथन प्रचार समितिका संयोजक टंकराज अधिकारीका अनुसार अन्नपूर्ण आधार शिविरबाट सुरु हुने यो म्याराथन माछापुच्छे« आधार शिविर, बगर देउराली, हिन्कु केभ, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला उरी हुँदै घान्द्रुकमा पुगेर सम्पन्न हुनेछ । यस म्याराथनमा पुरुष तथा महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुने धावकलाई क्रमशः रु एक लाख ५० हजार, एक लाख र ७५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने प्रचारप्रसार संयोजक अधिकारीले जानकारी दिए ।
हिमाली भूगोल, साहसिक पदमार्गसँगै मनोरम प्राकृतिक सौन्दर्यका कारण यस म्याराथनप्रतिको आकर्षण बर्सेनि बढ्दै गएकोछ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, जेठ १९ गण्डकी प्रदेश सरकारले कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा…







