चरक हस्पिटल नागढुंगामा चार दिने निःशुल्क मुटुरोग स्वास्थ्य शिविर शुरु


     एभरेस्ट आवाज    
     जेठ २७ गते २०८० मा प्रकाशित




पोखरा, जेठ २७

पोखराको चरक मेमोरियल हस्पिटल नागढुंगा पोखरामा चार दिने निःशुल्क मुटुरोग स्वास्थ्य शिविर शुरु भएको छ । चरक मेमोरियल हस्पिटल प्रालि नागढुंगा पोखराले टाईगर ग्रुप आफ पोखरासँगको सहकार्यमा सर्वसाधारणका लागि निःशुल्क मुटुरोग स्वास्थ्य शिविर आयोजना गरेको हो । कार्यक्रमको मनोक्रान्ति अभियन्ता डा.योगी विकाशानन्दले उद्घाटन गरे ।

जेठ ३० गतेसम्म हुने शिविरमा मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटलमा कार्यरत बरिष्ठ मुटुरोग विशेषज्ञ डा.सूर्य देवकोटा, चरक मेमोरियल अस्पताल नागढुंगा पोखराका बरिष्ठ मुटुरोग विशेषज्ञ डा.एसके जयसवालसहितका मुटुरोग विशेषज्ञ चिकित्सकहरुले मुटु जाँच तथा उपचार गर्ने चरक मेमोरियल अस्पतालका प्रबन्ध निर्देशक कपील पोखरेलले जानकारी दिए । उनका अनुसार शिविर उच्च रक्तचापका र मुटुको धड्कन बढेका विरामीहरु, मुटुको बाथरोगीहरु, मुटुका रक्तनली र धमनी सम्बन्धी समस्या भएकाहरु, ह््रदयघात (हर्टअट्याक) भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका तथा बाईपास सर्जरीका विरामीहरु, मुटुको भल्भ सम्बन्धी रोगीहरु त्था भल्भ फेरेकाहरु, जन्मजात मुटुमा प्वाल परेका, मुटु कमजोर भएका, शरीर सुन्निने, हिंड्दा चक्कर लाग्ने, रिंगटा लाग्ने, छाती दुख्ने, स्वास फेर्न गाह्रो हुने, पेस मेकर सम्बन्धीका विरामीहरु, कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्न पर्ने विरामीहरुको जाँच तथा उपचार गरिनेछ ।

शिविर उद्घाटन कार्यक्रममा बोल्दै डा.योगी विकाशानन्दले जीवन जिउने शैली परिवर्तन गर्न सके मुटु जोगाउन सकिने बताए । मनलाई बाँध्नसके मुटु स्वस्थ रहने उनको भनाई थियो । खानपान, हिंडाई, सुताईलगायतका जीवन शैलीमा परिवर्तन ल्याउन आवश्यक रहेको भन्दै उनले भने,‘रोग नलागेकालाई प्रिभेन्सन अप्नाउन लगाउनु प¥यो अनि रोग लागेकाहरुलाई केयर गर्न लगाउनु प¥यो । अर्थात जहाँबाट समस्या शुरु भएको छ त्यहिंबाट उपचार शुरु गर्नुप¥यो ।’

मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटलमा कार्यरत बरिष्ठ मुटुरोग विशेषज्ञ डा.सूर्य देवकोटाले मुटुरोगबाट बच्न शारिरिक अभ्यास, स्वस्थ खानपान र स्वस्थ वातावरण आवश्यक पर्ने बताए । त्यसका लागि व्यक्तिले अल्छी त्यागेर ईच्छाशक्ति बलियो बनाउनुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले हामीले मिष्ठान्न भोजनको रुपमा रोगहरु किनेर घर लैजाने गरेको बताए । त्यसैले रोगबाट बच्न पहिले किचन सुधार्न उनको आग्रह थियो ।

अस्पतालका अध्यक्ष रामचन्द्र रेग्मीले मनलाई बाँधेर मुटुलाई बचाउनुपर्ने बताए । कसैलाईपनि मुटुरोग लाग्दै नलागोस् भन्दै उनले यदी लाग्यो हाल्यो भने उपचारका लागि चरक अस्पताललाई सम्झिन आग्रह गरे । ‘मुटुरोग कसैलाईपनि लाग्दै नलागोस्, यदी लागि हाल्यो भने समयमै उपचार गरौं, त्यसका लागि चरक अस्पताललाई गन्तव्य बनाऔं’–उनले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।