सूर्य चिह्नमा आँखा नलगाउन प्रचण्ड माधव समूहलाई महेश बस्नेतको चेतावनी


     एभरेस्ट आवाज    
     पौष १० गते २०७७ मा प्रकाशित




नेकपा नेता तथा युवा संघ नेपालका पूर्व अध्यक्ष महेश बस्नेतले प्रचण्ड–माधव समूहलाई सूर्य चिह्नमा आँखा नलगाउन चेतावनी दिएका छन् । युवा संघले शुक्रबार पोखरामा आयोजना गरेको बृहद युवा भेलालाई सम्बोधन गर्दै धम्कीपूर्ण शैलीमा उनले भने,‘सूर्य चिह्नमा आँखा नलगाउनुस्, सूर्य चिह्नमा आँखा लगाएको युवाहरुले मन पराएका छैनन्, म अहिलेलाई यतिमात्रै भन्न चाहन्छु ।’

पूर्व मन्त्रीसमेत रहेका नेता बस्नेतले बिजय गच्छदार जेलको यात्रामा जाने क्रममा रहेको दाबी गरे । अख्तियारले गच्छदारलाई वाईडवडी काण्डमा जेल पठाउन लागेको उनको भनाई थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टचारीलाई कारवाही गर्न निर्देशन दिएको भन्दै अब धेरै नेता जेल जाने बताए । उनलेपनि अख्तियारलाई भ्रष्टाचारीलाई खुट्टा नकमाई कारवाही गर्न आग्रह गरे ।

नेता बस्नेतले युवा संघलाई टोल टोलमा साईबर सेना बनाउन निर्देशन दिए । ‘विप्लवकोजस्तो साम्राज्यवादीबिरुद्ध भनेर व्यापारीबिरुद्ध, चन्दा असुली र आतंक फैलाउन प्रयोग गर्ने होईन, प्रविधिमैत्री भएर पाईला पाईलामा युद्ध लड्ने साईबर सेना बनाउनुस्’–उनले भने ।

ओली पक्षले शुक्रबार देशभरका सातै प्रदेको राजधानीमा प्रदर्शन गर्ने योजना अनुरुप पोखरामा पनि युवा भेला गरेको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।