युवा संघले प्रदेश सभाको ब्यानर नछोपी कार्यक्रम गरेपछि त्यसको आलोचना शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघले शुक्रबार पोखरा सभागृहमा बृहद युवा भेला प्रदेश सभाको ब्यानर नछोपी गरेपछि त्यसको आलोचना भएको हो । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) का कारण नदीपुरस्थित नगर प्रशिक्षण केन्द्रमा रहेको प्रदेश सभा कार्यालयलाई अस्थायी रुपमा पोखरा सभागृहमा सारिएको छ । त्यहि पोखरा सभागृहमा सारिएको प्रदेश सभा बैठक बस्ने स्टेजमै युवा संघले कार्यक्रम गरेको हो । सो कार्यक्रमका प्रमुख अतिथि थिए गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ । मुख्यमन्त्रीलाई प्रदेशको अभिभावकका रुपमा लिईन्छ । उनी त्यहि प्रदेश सभाबाट निर्वाचित मुख्यमन्त्री भएकाले त्यसको गरिमा र मर्यादा जोगाउने दायित्वपनि उनको नै हुने गर्दछ । तर प्रदेशको अभिभावक मानिएको व्यक्ति नै प्रदेश सभा नछोपी कुनै अमुक पार्टीको भातृ संगठनले गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागि हुनु दुःखद हो ।
कार्यक्रममा मुख्यमन्त्री मात्रै नभई त्यहि प्रदेश सभाका सदस्यहरु राजिव पहारी, कृष्ण थापालगायतपनि सहभागि थिए ।
प्रदेश सभा भवन लेखिएको ब्यानर नहटाई कार्यक्रम गरिनु आपत्तिजनक भएको गण्डकी प्रदेश सभा सदस्य (सांसद) दीपक कोईरालाले बताए । उनले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै भनेका छन्,प्रदेश सभाको व्यानरसम्मपनि नहटाई प्रदेशसभाको रोस्टम प्रयोग गरेर राजनीतिक कार्यक्रम गर्नु जनप्रतिनिधि संस्था माथिको घोर अपमान हो । यो अपमानको नेतृत्व गर्नुहुने गण्डकी प्रदेशका मुख्यमन्त्री ज्यू कस्तो संस्कार बसाल्न खोज्दै हुनुहुन्छ ? साथ दिने सांसद ज्यूहरु कम्तिमा आफै अपमानित हुने काम त नगर्नुस् ।’
अर्का सांसद रामजी बराललेपनि प्रदेश सभा लेखिएको ब्यानर देखिने गरी कार्यक्रम गर्नु प्रदेश सभाको खिल्ली उडाउनु भएको बताए । कार्यक्रम नै गर्नु थियो भने ब्यानर सम्म त छोपेर गर्नु नि ! उनले भने, ‘यसरी प्रदेश सभाकै अपमान, त्योपनि मुख्यमन्त्रीकै अगुवाईमा हुनु घोर आपत्तिजनक छ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







