प्रधानमन्त्री कप : कर्णालीमाथि एपीएफको सहज जित


     एभरेस्ट आवाज    
     पौष १२ गते २०७७ मा प्रकाशित




साविकको विजेता एपीएफले दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

समूह ‘ए’ मा रहेको विभागीय टोली एपीएफले शनिबार भएको दोस्रो खेलमा कर्णाली प्रदेशलाई २०४ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २३५ रन बनाएको थियो ।

विशाल लक्ष्य पछ्याएको कर्णाली १४.१ ओभरमा सबै विकेट गुमाएर ३१ रनमै अलआउट बन्यो।
कर्णालीका कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। कप्तान लक्ष्मी रिमालले बनाएको ६ रन नै कर्णालीको इनिङ्समा व्यक्तिगत उच्च स्कोर रह्यो। यस्तै, दीक्षा पुरीले अविजित रहँदै ५ रन बनाइन्।

बलिङमा एपीएफकी करुणा भण्डारीले सर्वाधिक ५ विकेट लिइन्। उनले ३.१ ओभर बलिङ गर्दै २ मेडन राख्दै २ रन मात्र खर्चेर ५ विकेट लिइन्। यस्तै, राजमती ऐरीले २ तथा सोनु खड्का र रेखा रावलले समान १/१ विकेट लिए।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभर पूरै मात्र ४ विकेट गुमाएर २३५ रन बनाएको थियो।

टिमले विशाल योगफल खडा गर्ने क्रममा कप्तान सीता रानामगरले कप्तानी पारी खेलिन्। टिमका लागि सर्वाधिक रन बनाएकी उनले ५९ बल खेल्दै ८ चौकासहित ६८ रन बनाइन्। यस्तै, सितालाई राम्रो साथ दिएकी सरिता मगरले पनि ४४ रन बनाउँदा ओपनर ब्याटर ज्योति पाण्डेले ३२ र इन्दु वर्माले २२ रन जोडेकी थिइन्। कर्णालीले अतरिक्तबाट नै ६७ रन खर्चिदाँ एपीएफले उच्च स्कोर बनाएको थियो।

बलिङमा कर्णालीको तर्फबाट दीक्षा पुरीले २ तथा निशा पराजुली र अन्जु गुरुङ समान १÷१ विकेट लिन सफल भएका थिए ।

प्रतियोगिताअन्तर्गत आज (आइतबार) पहिलो खेलमा कर्णालीले लुम्बिनी प्रदेशसंग तथा दोस्रो खेलमा एपीएफले प्रदेश २ सँग प्रतिस्पर्धा गर्नेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।