महिला प्रधानमन्त्री कप : एपीएफ सेमिफाइनलमा


     एभरेस्ट आवाज    
     पौष १३ गते २०७७ मा प्रकाशित




विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबले महिला प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ।

दाङमा जारी प्रतियोगितामा एपीएफ समूह ‘ए’ बाट सेमिफाइनल पुगेको हो।

आइतबार दिनको दोस्रो खेलमा एपीएफले प्रदेश २ लाई ८ विकेटले पराजित गरेसँगै एक खेल अगावै एपीएफ सेमिफाइनल पुगेको हो ।

देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेट गुमाएर ७२ रन बनाएको थियो। टिमले उक्त रन बनाउने क्रममा उसका लागि अनुराधा चौधरीले सर्वाधिक ठूलो पारी खेलिन। यस्तै, टोलीकी शोभा आलेले १३ रन बनाउँदा सन्तोषी चौधरीले ९ रन र विमला मगरले ६ रन बनाइन्।

बलिङतर्फ एपीएफकी कप्तान सीता राना मगरले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन्। रेखा रावल, करुणा भण्डारी, ईश्वरी बिष्ट र राजमती ऐरीले समान १/१ विकेट लिए।

यता, प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा एपीएफले प्रदेश २ ले प्रस्तुत गरेको ७३ रनको विजयी चुनौतीलाई १३.१ ओभरमा २ विकेट गुमाएर लक्ष पूरा ग¥यो। एपीएफकी ओपनर ज्योती पाण्डे ४० बलमा ४ चौका सहित सर्वाधिक ३० रनको योगदान दिइन्। सरिता मगर ६ र इन्दु बर्मा १ रनमा अविजित रहिन्। त्यसअघि, कप्तान सीता रानामगर ३० बल खेल्दै १ चौकासहित १८ रनमा आउट भइन् ।

बलिङतर्फ प्रदेश २ की कविता गौतम र सरस्वती कुमारी चौधरीले १÷१ विकेट लिइन्।
अब प्रतियोगिता अन्तर्गत सोमबार पहिलो खेलमा प्रतियोगिताबाट बाहिरी सकेका कर्णाली र प्रदेश २ बीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा सेमिफाइनल पुगिसकेको एपीएफले लुम्बिनीको सामना गर्नेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।