नेकपा गण्डकी प्रदेश कमिटीले नेपालको नया नक्सामा समेटिएका सम्पूर्ण भूभागको हकभोग कायम गर्न माग गरेको छ । नेकपा गण्डकी प्रदेश कमिटीको यही पुस ११ गते बसेको बैठकले नेपालको नया नक्सामा समेटिएका नेपाली भुभाग कालापानी, लिपुलेक, लिम्पीयाधुरालगायतका भुभागमा हकभोग कायम गर्न माग गरेको पार्टीको निर्णय सार्वजनिक गर्न सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । निर्णयमा भनिएको छ,‘वर्षौंदेखि भारतीय कब्जामा रहेको र नेपालको नक्सामापनि नसमेटिएको नेपाली भुभाग कालापानी, लिपुलेक, लिम्पीयाधुरा लगायतका भुभाग संसदको सर्वसम्मतीबाट संविधान संसोधन गरी नक्सामा समेटिएतापनि नेपालको हकभोग अझै कायम हुन सकेको छैन, सो क्षेत्रमा नेपालको हकभोग कायम गर्न बैठक जोडदार मार्ग गर्दछ ।’
प्रचण्ड–माधव समूहको सो बैठकले संसद विघटनको घोषणा असंवैधानिक, अलोकतान्त्रिक, निरंकुस, पश्चगामी र स्वेच्छाचारी भएको भन्दै सो कदम अस्वीकार्य हुने बताएको छ । साथै नेकपा गण्डकी प्रदेशले संसदको नियमित अधिवेशन आह्वान गरी बैठक सञ्चालन गर्न माग गरेको छ । उसले प्रधानमन्त्री ओलीले पार्टीको विधान, नियमावली, कमिटीको निर्णय र पार्टीको स्थापित मूल्य र मान्यताबिरुद्ध स्वेच्छाचारी ढंगले पार्टी एकताको मर्म विपरित कार्य गरेको भन्दै भत्र्सना गरेको छ । साथै एकता विरोधी फुटपरस्त कदमको बिरुद्ध उभिएर नेकपाको आधिकारिक नेकपामा गोबद्ध हुन नेकपा गण्डकी प्रदेशले अपिल गरेको छ ।
नेकपा गण्डकी प्रदेश बैठकले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को औषधी उपचारको व्यवस्था गर्न तथा समयमै खोपको ब्यबस्था गर्न माग गरेको छ ।
बैठकले विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष वितिसक्दापनि शान्ति प्रक्रियाका सम्पूर्ण काम पूरा नभएको भन्दै शान्ति प्रक्रियाका ती बाँकी कामहरु पूरा गर्न माग गरेको छ ।
नेकपा गण्डकी प्रदेशले उखु किसानको मागप्रति ऐक्यबद्धतासमेत जनाएको छ । पार्टीको प्रदेश बैठकले उखु किसानको मागप्रति ऐक्यबद्धता जनाउँदै उनीहरुको समस्या तत्काल समाधान गर्न माग गरेको नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे (उत्तम)ले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







