नेकपाका प्रमुख सचेतक देव गुरुङले ओली सरकारले संकटकाल लगाउने तयारी गरिरहेको दाबी गरेका छन् । नेकपा गण्डकी प्रदेशले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संसद पुर्नस्थापना गर्न सकिएन भने संविधान र अदालतलाईपनि सिध्याएर देशमा संकटकाल लगाउने तयारीमा प्रधानमन्त्री रहेको बताएका हुन् । त्यसपछि देश राष्ट्रपतीय शासन प्रणालीमा जाने र सर्वसत्तावाद शुरु हुने बताए । ओलीको कदम प्रतिगामी भएकाले यो कदम सच्चिन जरुरी छ,उनले भने,‘अन्यथा संसद विघटन गर्ने ओलीको कदम खारेज गर्न सकिएन भने संकटकाल लगाएर संविधान र त्यसका धाराहरु निस्कृय बनाईन्छ । त्यसबेला बन्दी प्रत्यक्षीकरण र मौलिक हक अधिकारसँग सम्बन्धित धारा र दफाहरु मात्रै बाँकी हुन्छन् । अदालतलेपनि सामान्य फौजदारी र सामान्य प्रकारका देवानी मुद्धाहरु बाहेक अरु हेर्न पाउँदैन । र देशमा राष्ट्रपतीय शासन सञ्चालन हुन्छ ।’
गुरुङले देश फाँसीवादतर्फ उन्मुख भएकोपनि दाबी गरे । संसद विघटन गरेर संकटकाल लगाउने, अदालत र संविधान सिध्याउने खेलमा लागेका ओली फाँसीबादतर्फ उन्मुख भएको उनको आरोप छ । अहिले ओलीले चालेको कदम पूर्व राजा महेन्द्रले २०१७ सालमा र ज्ञानेन्द्र शाहले २०५९ सालमा चालेको संवैधानिक ‘कू’सँग तुलना गर्दै उनले भने,‘यो सर्वसत्तावाद हो । एकाधिकारवाद हो, निरंकुशतावाद र फाँसीबाद हो ।’ उनले प्रधानमन्त्री ओलीमा रहेको सर्वसत्तावादी चिन्तन, एकाधिकारवादी चिन्तन, निरंकुश प्रवृत्ति र फाँसीबादी चिन्तनको उपजका कारण देश दुर्घटनामा परेको बताए । यसैमा टेकेर विदेशी शक्ति राष्ट्रले खेल्ने प्रयास गरेको उनले आरोप लगाए ।
नेता गुरुङले विदेशी सेनाले नेपाली भूमिमा मार्चपास गर्ने नियतले संसद विघटन गरेको र सोहि योजना अनुरुप अब चाँडै अदालत र संविधानपनि सिध्याउने षडयन्त्र भइरहेको बताए । संसद रहेसम्म विदेशी सेनाले मार्चपास गर्नसक्ने अवस्था थिएन,उनले भने,‘त्यहि भएर विदेशी सेनाको मार्चपासबिरुद्ध बाधक बनेको देशभक्त पार्टी नेकपा विभाजित गरियो, संसद विघटन गरियो, अब चाँडै संविधान र अदालतपनि सिध्याउँदैछ ।’ देशको रक्षाका लागिपनि अेलीको कदमबिरुद्ध लड्नुपर्ने भन्दै उनले अगाडि थपे,‘संसद सिद्धिने, अदालत सिद्धिने, संविधानपनि सिद्धिने र नेपाल कम्युनिष्ट पार्टी सिद्धिएपछि विदेशी सेना भित्रिने मूलबाटो खुल्छ । त्यसपछि देशको अस्मीतामाथि, स्वाधिनतामाथि विदेशी सेनाको क्रिडास्थल बनाउने कुराको शुरुवात गर्न थालिएको छ । यसबिरुद्ध जुध्न जरुरी छ ।’ ‘योसबै विदेश शक्ति राष्ट्रले नेपाललाई फौजी प्ले ग्राउण्ड बनाउने, चीनको बिरुद्धमा परिलक्षित गर्ने, चीनलाई घेराबन्दी गर्ने र तीब्बत टुक्राउने योजना अनुरुप भइरहेको छ’–उनले भने । उनले ओलीको संसद विघटन गर्ने कदम साम्राज्यवाद परस्त, बिस्तारबाद परस्त, राष्ट्रिय आत्मसमर्पणवादी कदम र राष्ट्रघाती कदम भएको बताए ।
नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल (सुनिल)ले प्रधानमन्त्रीले आवेग र हठातमा संसद विघटन गरेको आरोप लगाए । देशलाई बचाउनका लागि भएपनि संसद पुर्नस्थापना हुनुपर्ने भन्दै उनले भने,‘संविधानको रक्षाका लागि, जनयुद्ध र जनआन्दोलनका रक्षा गर्नका लागिपनि संसद पुर्नस्थापना हुनुपर्छ ।’ ओलीले आफ्नो स्वार्थ पूर्ति गर्न र भ्रष्टाचारलाई संस्थागत गर्न हुँदाखाँदाको पार्टीलाई टुटफुट र संसद विघटन गरेको बताए ।
नेता पौडेलले सर्वोच्च अदालतले संसद पुर्नस्थापना गर्नेमा आफूहरु आशावादी रहेको बताए । ‘अदालतले जनता, न्याय, कानून र कानूनीय राज्यको पक्षमा निर्णय गर्नेमा हामी विश्वस्त छौं’–उनले भने । उनले पार्टीको चुनाव चिह्नबारे निर्णय गर्दा निर्वाचन आयोगले नक्कली हस्ताक्षरलाई मान्यता नदिने विश्वास व्यक्त गरे । ओली पक्षले एक हजार भन्दा बढी सदस्य थपेको र थपिएका सदस्यको नक्कली हस्ताक्षर गरेको भन्दै उनले त्यसलाई मान्यता नदिई बहुमत सदस्य रहेको प्रचण्ड–माधव समूहलाई संस्थापन मानेर सूर्य चुनाव चिह्नपनि पनि आफूहरुकै समूहलाई दिने विश्वास उनको छ ।
पत्रकार सम्मेलनमा नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे (उत्तम)ले प्रदेश कमिटीले गरेका निर्णयहरु सार्वजनिक गरेका थिए । प्रदेश कमिटीले पुस १२ गतेदेखि संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमबिरुद्ध पहिलो चरण्का कार्यक्रमहरु सार्वजनिक गरेको छ । जस अन्तर्गत मंगलबार प्रदेशका सबै जिल्लामा विरोध प्रदर्शन गर्ने जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







