रुकुम पश्चिममा पहिलो ब्लड बैंक स्थापना


     एभरेस्ट आवाज    
     श्रावण २ गते २०८० मा प्रकाशित




फाइल तस्विर

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पहिलो पटक ब्लड बैंक सञ्चालनमा आएको छ । नेपाल रेडक्रस सोसाइटी चौरजहारी शाखाको पहल र चौरजहारी नगरपालिकाको लगानीमा वडा नं १ मा ब्लड बैंक सञ्चालनमा आएको हो ।

दुई वर्ष अघि ब्लड बैंक स्थापनाको तयारी भए पनि बीचमा यो काम अलपत्र परेको थियो । अलपत्र परेको ब्लड बैंक निर्माण हाल पूरा भएको रेडक्रस चौरजहारी शाखाका कोषाध्यक्ष गोपाल लामिछानेको भनाइ छ ।

ब्लड बैंक निर्माणका लागि हालसम्म रु ४० लाख खर्च भइसकेको छ । जसमध्ये भवन निर्माणमा रु २८ लाख र बाँकी रकम उपकरण व्यवस्थापनमा खर्च भएको उनले जानकारी दिए । भवन निर्माणसहित शय्या, फर्निचर, कार्यालय व्यवस्थापन, सोलार, तारबारलगायतका काम सोही बजेटबाट भएको उनको भनाइ छ ।

ब्लड बैंक स्थापना भएपछि अब चौरजहारी अस्पताल र जिल्ला अस्पताल सल्लेमा रगत अभाव नहुने विश्वास लिइएको छ । हाल सुत्केरी, गर्भवती, विभिन्न दुर्घटनामा परेका घाइते तथा विभिन्न बिरामीलाई रगत आवश्यक पर्दा विभिन्न व्यक्तिलाई गुहार्नुपर्ने बाध्यता छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।