प्रधानमन्त्री कप क्रिकेट : कर्णालीलाई हराउँदै प्रदेश २ को सुखद बिदाई


     एभरेस्ट आवाज    
     पौष १४ गते २०७७ मा प्रकाशित




प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा प्रदेश २ ले जित हात पारेको छ।

कर्णाली प्रदेशलाई १ सय ४३ रनले पराजित गर्दै प्रदेश २ ले प्रतियोगिताबाट सुखद बिदाई लिएको हो।

दुवै टिम एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेका थिए। दाङको लमहीमा १ सय ६६ रनको लक्ष्य पछ्याएको कर्णालीले ९ विकेट गुमाएर मात्र २२ रन बनायो।

कर्णालीका कुनै पनि खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् । ओपनर त्रिशाना विश्वकर्माले ७ रन बनाउँदा अन्य ६ खेलाडी डक आउट भए। प्रतियोगिताभर कर्णालीका कुनैपनि खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। कर्णालीलाई सस्तैमा रोक्न कबिता गौतम र सरस्वती कुमारीले ३ विकेट लिइन् ।

यसअघि, लमही मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ६५ रन बनायो । उसकी अनुराधा चौधरीले सर्वाधिक ६९ रनको अर्धशतकीय इनिङ्स खेलिन्।

यस्तै, शोभा आलेले २३ रन बनाउँदा बिमला मगर २१ रनको योगदान गरिन्। कर्णालीकी निशा पराजुलीले २ विकेट हात पारिन्। दुवै टोली यसघिनै प्रतियोगिताबाट बाहिरिएका छन् । समुह ’ए’ मा रहेका एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल पुगिसकेका छन्।

सोमबार दिउँसोको खेलमा एपीएफ र लुम्बिनी भिड्दै छन्। सेमिफाइनल पुगिसकेका दुवै टोली समुह विजेताको लागि प्रतिस्पर्धा गर्नेछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।