खोरमा रुद्रबहादुर हरिवन (सर्लाही) १४ पुस ः सर्लाहीको हरिवन नगरपालिका ४ पटौनाका मनोरोगी रुद्रबहादुर कार्की आफ्नै घरमा बनाइएको फलामे खोरमा । उहाँलगायत मनोरोगी तीन दाजुभाईलाई सोमबार मानवसेवा आश्रमले उद्वार गरेको छ । तस्वीर ः नारायण ढुङ्गाना, रासस
–नारायण ढुङ्गाना सर्लाहीको हरिवन नगरपालिका–४ पटौनाका उनबहादुर कार्कीका कान्छा छोरा रुद्रबहादुर (विष्णु) को बिहे धुमधामका साथ हुँदै थियो । आमा हीराकुमारी खुशीले गद्गद् हुँदै बुहारी भित्र्याउन साँझको चाँजोपाँजोमा गर्दै गर्दा बेहुली घर सिन्धुलीस्थित छोराकै कारण सन्नाटा छाउँदै थियो । सिन्धुलीमा लगनगाँठो कसेर सिन्दूर÷पोतेपछि बिहे अन्तिम सङ्कल्प गर्ने बेला रुद्रबहादुरले एक्कासि ‘ल तेरी छोरी लान्न’ भनेपछि बेहुली घरको त्यो वैवाहिक रौनक एकाएक बदलियो ।
“दुलही घरमा छोराको त्यो वचन सुनेर म छाँगाबाट खसे झैँ भएँ, दिउँसै सपना देखँे, त्यसपछि मलाई चौकी पु¥याए”, बाह्र वर्षअघिको क्षण सम्झँदै बुबा उनबहादुरले भन्नुभयो, “मैले बेहुली पक्षलाई रु एक लाख १० हजार जरिवाना तिरेर छोरो फर्काएँ ।” त्यो बेला रुद्रबहादुरमा मनोरोग लागिसकेको थियो । भारतको राँचीमा उपचार गराउँदा ठीक भएपछि बिहेको चाँजोपाँजो मिलाइएको थियो । उहाँलाई छोराको बिहे गराउने मन त कत्ति पनि थिएन तर गाउँले र आफन्तबाट बिहेपछि रोग पूर्ण निको हुने भनेर आएको सुझावलाई नकार्नु भएन ।
निको भइहाल्छ कि भन्ने झिनो आशा बोकेर छोराको बिहे गराउन राजी भएका उनबहादुरका सपना छोराकै कारण चकनाचुर भयो । त्यो चिन्ताले झण्डै उहाँ आफैँ मनोरोगीको सिकार हुनु परेको छिमेकी सम्झन्छन् । बेलाबेलामा उहाँको मन पनि एकोहोरिन्छ । पुराना गाविस उपाध्यक्ष गाउँको गन्यमान्य उनबहादुर पीडा सहेर छोराका उपचारमा लागेको सुनाउनुहुन्छ । त्यसबेला साहिँलो छोरा हेमबहादुर (भगवान्) मनोरोगी भएको झण्डै पाँच वर्ष बितिसकेको थियो । उनको उपचार चल्दै गर्दा कान्छोलाई रोगले समातेपछि कार्की परिवारमा पीडामाथि पीडा बल्झियो ।
परिवारको चिन्ताले जेठो पवनलाई पनि केही महिनादेखि मनोरोगले समातेको छ । तीनै छोराको चिन्ताले आमा हीराकुमारीको मस्तिष्कमा पनि असर परिसकेको छिमेकी बताउँछन् । हरिवन नगरपालिका–११ का सदस्य सुकदेव कार्की उहाँको परिवार नै कुनै न कुनै प्रकारको मनोरोगबाट प्रभावित रहेको सुनाउनुहुन्छ । तीनमध्ये मनोरोगबाट सबैभन्दा बढी प्रभावित रुद्रबहादुरको उपचारमा लाखौँ खर्च गरे पनि निको हुनुको साटो रोग बल्झिँदै गयो । रुद्बहादुरले बिस्तारै आक्रामक हुँदै युवती देख्न नहुने, छरछिमेकका सामान फुटाउने तोडफोड गर्ने, मानिसलाई आक्रमण गर्ने, घरका झ्यालढोका, मोटरसाईकल, साइकल फोर्न थाले ।
त्यसैले दुई वर्षअघि घरमा फलामे बारको खोर बनाएर परिवारले थुन्नु परेको थियो । उहाँलाई फलामे खोरमा राख्नसमेत मुस्किल भयो । हातमा लगाएको साङ्लो चुँडाल्न थालेपछि र खोर भत्काउन थालेपछि झन् समस्या भयो । परिवारले चारैतिरबाट डोरीको लट्ठाले उनी राख्ने खोरलाई बाहिरबाट मोरेर राखेका थिए । त्यति गर्दासमेत रुद्रको उद्दण्डपन रोकिएन । उहाँले खोरबाट निस्कने अनेक उपाय रच्नुभयो । विगत छ महिनाअघि भुइँ कहिले हातले त कहिले भेटिएका सामग्रीले खोरभित्र खन्न थालेपछि परिवार नै छक्क परेको थियो । एक हप्ताअघि भने पल्लो कोठासम्मै सुरुङ खनेर बाहिर निस्किएको आमा हीराकुमारी सुनाउनुहुन्छ ।
“शुरुमा कसैलाई पनि किन खोतल्लो भन्ने भेउ भएन, सुरुङ नै बनाएर भाग्यो, त्यसपछि पो भाग्न बनाएको भन्ने चाल पाइयो”, छोराले खनेको सुरुङ देखाउँदै उनबहादुरले घटना विवरण सुनाउनुभयो । परिवारले उनलाई फेरि खोरमा राखी सुरुङको ढोकामा खाट घोप्ट्याए बन्द गरेका थिए । रुद्रबहादुरलाई बाह्र वर्षअघि सम्म कुनै समस्या थिएन । राति चल्ने सवारी साधनको चालक भएर निकै समय काम गर्नुभएको थियो । त्यसपछि रुद्रबहादुर २२ महिना कतारमा वैदेशिक रोजगारी गरेरसमेत फर्किनुभएको थियो ।
काम गर्दै गर्दा एकपटक काम गर्ने कम्पनीका व्यवस्थापकलाई तँैले कम्पनी चलाउन सकिनस् ले म चलाउँछु भनेर धम्क्याएपछि कम्पनीले टिकट काटेर घर पठाइदिएको बुबा उनबहादुर सुनाउनुहुन्छ । त्यसपछि एक वर्ष राँचीमा पु¥याएर उपचार गरिएको थियो । केही ठीक भएपछि पुनः रोग बल्झियो । मान्छेलाई नै मार्न खोजेपछि भने बाध्य भएर थुन्न परेको उनबहादुर सुनाउनुहुन्छ । साहिँला हेमबहादुर शुरुमा वीरगञ्ज नेशनल कलेजमा काम गर्दागर्दै एक व्यक्तिले २० हजार जागिर लगाइदिने लोभमा दिल्ली पु¥याएको र त्यहाँ दलालले फसाएपछि मनोरोगी बनेर घर आएको परिवारले जनाएको छ । उनीहरुलाई परिवारले धामी, झाँक्री, औषधिमूलो गर्नेदेखि सुधारगृहमा राख्दासमेत उपचार सफल हुन नसकेको जनाएको छ । दाजुभाइको पीडाले माइलो छोरा भने घर छाडेर अन्यत्रै काम गर्दै आएका छन् ।
परिवारकै चिन्ताले जेठामा समस्या दुई भाइ मनोरोगी भएपछि जेठो दाइ पवनले वैदेशिक रोजगारबाट कमाएको सबै पैसा उनीहरुकै उपचारमा खर्च गरेको छिमेकी सुनाउँछन् । परिवारको चिन्ताका कारण जेठो पवन पनि विगत केही महिनादेखि मनोरोगी भएका छन् । एक वर्षदेखि सामान्य समस्या देखापरेकामा दशैँदेखि भने अलि बढी भएको श्रीमती देवकी सुनाउनुहुन्छ । देवकी कार्की गएको दशैँदेखि अन्य दुई भाइ जस्तै गरी श्रीमान् पवन पनि टोलाएर गाउँगाउँ डुल्न थालेको बताउनुहुन्छ । मनोरोगी तीन भाइ र बुबाआमाको पालनपोषण र जिम्मेवारी देवकीको गर्दै आउनुभएको थियो । छ सन्तानकी आमा उहाँ रातदिन भारोपर्म मेलापात गरेर परिवार पाल्दै आउनुभएको छ ।
छिमेकीका अनुसार ३५ वर्षका होमबहादुर १७ वर्षदेखि, कान्छो रुद्रबहादुर १२ वर्षदेखि र जेठो पवन गएको दशैँदेखि मनोरोगी भएका छन् । छोराहरुको पीरले आमाको बोलीमा ठेगान हुन्न । बुबा उनबहादुर पनि बेलाबेलामा विक्षिप्त हुनुहुन्छ । कार्की परिवारलाई छरछिमेक तथा स्थानीय तहले बेलाबेलामा सहयोग दिँदै आएको थियो तर दीर्घकालीन समाधान हुन सकेको थिएन । यसरी गरियो उद्धार सोमबार पुग्दा उनलाई घरको अघिल्लो भागमा रहेको चारकुने फलामे खोरमा बसिरहेका थिए मनोरोगी रुद्रबहादुर । उनी भाग्लान् भन्ने डरले बाहिर सुरुङको प्वाललाई खाट खोप्ट्याएर टालिएको थियो ।
खाटलाई डोरीको लट्ठाले कसेर राखिएको थियो । त्यही बेला मानवसेवा आश्रमको राष्ट्रिय उद्धार अभियानअन्तर्गत मेची¬महाकाली सडक यात्रामा निस्किएको समूहले उहाँको उद्धार गरेको हो । बुबा उनबहादुरले पूजापाठ गर्ने भएर होला रुद्रबहादुरको मुखबाट हरेक पटक भगवान् शब्द निस्किरहन्छ । बेलाबेलामा उहाँ बुबालाई समेत आक्रमणको प्रयास पनि गरिरहनुहुन्छ । “यसलाई म छुँदैछुन्न, मार्ला भन्ने डर हुन्छ, मनपरी बोल्छ”, आँखामा टिलपिल आँसु पारेका उनबहादुरले भन्नुभयोे, “मलाई भगवान्सँग विश्वास छ, तपाईंहरु (आश्रमलाई देखाउँदै) भगवान्को कृपाले मेरो समस्या हेर्न आउनुभयो, छोरालाई ठीक पारिदिनोस् ।
” आश्रमका अध्यक्ष रामजी अधिकारीले भरोसा दिँदै भन्नुभयो, “हाम्रो प्रेमको औषधि पाएपछि छिट्टै कर्म भूमिमा फर्कनुहुन्छ, ढुक्क हुनुहोला ।” जवाफमा उनबहादुरले आश्रमलाई शुभकामना दिनुभयो र फेरि भन्नुभयो, “म जस्ता पीडित धेरै छन्, समाजमा उहाँहरुको पनि यसैगरी उद्धार गरिदिनुहोस् ।” उहाँलाई हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेलको उपस्थितिमा उद्धार गरिएको थियो । इन्द्रबहादुरलाई थप उपचार गर्नुपर्ने भएकाले तत्कालै एम्बुलेन्समा राखेर काठमाडौँ पठाइएको र अन्य दुई दाजुभाइलाई हरिवनस्थित आश्रममा राखिएको आश्रमका उपाध्यक्ष धर्मप्रसाद पौडेलले जानकारी दिनुभयो ।
“दोस्रो भगवान् बनेर आएको आश्रमले पुण्य काम ग¥यो, उनीहरु राम्रो भएर फर्किएको हेर्ने चाहना छ”, छिमेकी श्रीध्वज उद्धारका क्रममा सुनाउनुभयो । छोराहरुलाई उद्धार गरेर एम्बुलेन्समा हाल्दै गर्दा आमा हीराकुमारी एकछिन खुशीले बेहोस् नै हुनुभयो । टम्म उभिएका छिमेकीहरुले उद्धार भएकामा खुशी साटेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







