आज पुष १५ गते (बुधबार), अर्थात तमु ल्होसार पर्व। तमु ल्होसारलाई तमुहरुको नयाँ वर्षको रुपमा लिने गरिन्छ।
तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट हुन्छ, आज गुरुङ समूदायको नयाँ वर्ष हो। यस समूदायले आज विशेष हर्षका साथ आफ्नो पारम्परीक नयाँ वर्षलाई स्वागत गर्दैछन्।
बर्षमा १२ महिना हुन्छन् र हरेक महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन्। यि जनावरहरुमा मुसा, गोरु, गाई, खरायो, चील, पानी घोडा, सर्प, बाँदर, कुखुरा, कुकर, मृग र सुंगुरहरु पर्दछन् । यो पटक मुसा वर्गको बिदाइ र नयाँ वर्ग गाईको स्वागत हुँदैछ।
ल्होसार पर्वको अवसरमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । तमु ल्होसार पर्वका अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ।
ल्होसारमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरू बन्द रहनेछन् । गण्डकी प्रदेश सरकारको मन्त्री परिषद्को २०७६ साल चैत्र २२ गतेको निर्णयले तमु ल्होसार पर्वका अवसरमा प्रदेशमा बिदा दिने निर्णय गरेको थियो।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उक्त सूचना जारी गरेको हो । सो सूचना प्रदेशको राजपत्रमा प्रकाशित गरिएको छ।
आज उधौली पर्व पनि

आज, किराँतहरुको महान चाड उधौली पर्व पनि हो।
हरेक वर्षको मंसीर पूर्णिमाका दिन उधौंली पर्व पर्दछ।
किराँती मान्यताअनुसार आजको दिनदेखि हिउँद शुरु भयो। हिँउद शुरु भएलगत्तै लेकवाट बस्तुभाउ अनि चराचुरुंगी लेकबाट बेसीतिर बसाई सर्ने समय भएको संकेतका रुपमा लिइन्छ। साथै, अन्नबाली भित्राइएको खुशीयालीमा यो पर्व मनाइन्छ।
किराँतहरुको धार्मिक पुस्तक ’मन्धुम’मा एउटा समग्र वर्षलाई चराहरुको बसाइसराइलाई आधार मानेर दुई भागमा विभाजन गरिएको छ, उगौली र उधौंली ।
पर्वत श्रृंखलाहरुको लेकतिर बसोवास गर्ने किराँतहरु जाडोको याममा बेसी अथवा तलतिर झर्ने र क्रमशः न्यानो बढेसँगै लेकतिर लाग्ने क्रम पनि यो चाडको सूचक हो। परम्परागत भेषभ्रषा लगाएर आज किराँत दाजुभाई तथा दिदिबहिनीहरु सार्वजनिक स्थलमा भेला भएर पारम्परीक ‘साकेला’ नृत्य प्रस्तुत गर्ने चलन छ।
‘सोई साई ला एएएए …..’
‘हुर्रे हा हा, सोई ढोले सोई एएए अर्को ढोले खै?’
भन्दै यस दिन पारम्परीक सामूहिक नृत्य तथा गीत प्रस्तुत गरिन्छ । साथमा परम्परागत बाजागाजाहरु एवं विशेषतः किराँत संस्कृतिको अमूल्य सांगीतिक बाजाहरू ढोल, झ्याम्टा आदि बजाइन्छ । बहुतै संयमित अनि सुस्तरी नाचिने यी नृत्यहरुमा कम्मरको तालमा नाचिने गरिन्छ।।
महिलाहरुले यस नृत्यमा लगाउने एउटा विशेष किसिमको तासको कपडाबाट बनेको परम्परागत पहिरनलाई छिट्को गुन्यू भनिन्छ । त्यसमाथी विशेष किसिमबाट बनाइएको तोङबा या जाँडको मन्द मातले जीवनको रस अनि माधूर्यतालाई एउटा नयाँ उत्साह प्रदान गर्ने गर्दछ।
किराँतहरु भूमीका सन्तानहरु हुन्, यस समूदायमा भूमीको विशेष महत्व अनि आमा पृथ्वीको अद्भूत प्रेम पाइन्छ। आजको दिन पवित्र भूमी पूजाका रुपमा पनि लिइन्छ। भ्ूमी अर्थात माटोको श्रद्धाकासाथ पूजा अर्चना गर्दै यस वर्षको अन्नका लागि धन्यवाद दिंदै आउँदो वर्ष राम्रो उब्जनीको लागि प्रार्थना समेत गरिन्छ।
आज, योमरि पुन्हि, धान्य पूर्णिमा र ज्यापु दिवस पनि

त्यसैगरि, आज नेवार समूदायको योमरि पुन्हि, धान्य पूर्णिमा र ज्यापु दिवस पनि पर्दछ।
आज काठमाण्डौ उपत्यकालगायत देशैभरी छरिएर रहेका विविध प्राचिन संस्कृति र परंपराका धनी नेवार समुदायले योमरि पुन्हि मनाउँदैछन्।
कृषि कार्यसँग आजको धान्य पूर्णिमाले विशेष महत्व बोकेको छ। योमरि पुन्हि अर्थात् पूर्णिमाबाट औपचारीक रुपमा धान काट्ने कार्य सम्पन्न गरिन्छ। त्यसैले, आजको दिनलाई धान्यपुर्णिमा समेत भनिएको हो। नयाँ धानको चामलको पिठोलाई माछाकोजस्तो स्वरुप बनाएर त्यस भित्र चाकू, तिल, दूधको खुवा आदि राखेर पानीको बाफबाट योमरि तयार पारिन्छ।
योमरि अत्यन्तै स्वादिष्ट हुन्छ। मैदाको पिठोभित्र तरकारी र मासुका किमा हालेर मःमः बनाए जस्तै योमरिलाई पनि पानीको बाफमा पकाइन्छ। तेल या अन्य चिल्लोपना नभएको यो परीकार स्वास्थ्यका हिसाबले हीतकारी हुन्छ ।
योमरि कै जस्तो तर भित्र केहीपनि नहालीकन चामलको पिठोलाई पानीको बाफमा राखेर पूर्वी नेपालमा हिउँदका बखत भक्का खाने चलन छ। नयाँ धानको चामलको यस्ता भक्काहरुलाई पिरो अचारमा तात्तातो चोपेर खाने गरिन्छ। यस वर्षको भक्का खाने औपचारीक दिन पनि आजबाटै प्रारम्भ हुने जनउक्ति छ।
योमरिको त्रिकोणात्मक आकारले षटकोणको अर्धभागको रुपमा सरस्वती अथवा ज्ञानको प्रतिबिम्बको रुपमा लिइन्छ। पानीको देवताकारुपमा काठमाण्डौवासीले मछिन्द्रनाथलाई मानेजस्तै अन्न अथवा उब्जनीकी माता अन्नपूर्णालाई नयाँ उब्जनी अनि त्यसबाट बनेको खानेकुरा योमरि चढाउने परम्परा शदिऔंदेखि चलि आएको हो।
काठमाण्डौको हरिसिद्धी र ठेंचोमा आज एउटा विशेष मुखौटो लगाएर नाच देखाइने चलन पनि परापूर्वकालदेखि चल्दै आएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







