प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा गण्डकीले लगातार दोस्रो हार खेपेको छ।
दाङको लमहीमा जारी प्रतियोगितामा दोस्रो खेल खेलेको गण्डकी प्रदेशमाथि बागमती प्रदेशले सहजै पराजित गरेको हो।
प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा बुधबार दिनको दोस्रो खेलमा बागमतीले गण्डकीलाई ६५ रनले पराजित गरेको हो।
खेलमा बागमतीले दिएको १ सय ५४ रनको विशाल योगफललाई पछ्याएको गण्डकी निर्धारित २० ओभर पूरै खेल्दै ५ विकेटको क्षतिमा ८८ रनमा सीमित हुन् पुगेको थियो।
गण्डकीका लागि सृष्टि पौडेलले सर्वाधिक ३० रन तथा कप्तान शिला क्षेत्रीले २६ रनको योगदान गरिन्।
बलिङतर्फ बागमतीका लागि कप्तान अस्मिना कर्मचार्य, सुमन खतिवडा, आराती बिडारी र निशा तामाङले १÷१ विकेट लिए।
त्यसअघि, देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो।
टिमले विशाल योगफल खडा गर्ने क्रममा बागमतीले सुरुवातदेखिनै राम्रो सुरुवात गरेको थियो। कञ्चन श्रेष्ठ र विन्दा कटवालले ७६ रनको ओपनिङ साझेदारी गरेका थिए।
१०.२ ओभरमा पहिलो विकेटका रुपमा आउट हुन पुगेकी कञ्चनले २९ बलको सामना गर्दै १ चौकासहित २७ रन बनाएकी थिइन्।
कञ्चन आउट भएपछि विन्दालाई साथ दिन सुमन खतिवडा आइन्। राम्रो ब्याटिङ गरेका यी दुईबीच दोस्रो विकेटका लागि ५३ रनको साझेदारी हुन् पुगेको थियो।
टिमलाई ठूलो स्कोरतर्फ पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी सुमन दोस्रो विकेटका रुपमा आउट हुन पुगिन्। १७.४ ओभरमा टिमको स्कोर १ सय २९ रन हुँदा आउट हुन् पुगेकी सुमनले २६ बलको सामना गर्दै ४ चौकासहित ३१ रन बनाइन्।
यस्तै विन्दाले भने पारीकै सर्वाधिक धेरै रन बनाइन् । राष्ट्रिय प्रतियोगितामा समेत डेब्यु गरेकी उनले ५८ बलमा ३ चौकाको सहयोगमा ३८ रनको योगदान गरिन्। अन्त्यमा आरती विडारीले १० रनमा अविजित रहँदा कप्तान अस्मिना कर्मचार्यले ८ रन जोडेकी थिइन्।
बलिङतर्फ गण्डकीका लागि अलिशा लामिछानेले २ विकेट लिएकी थिइन्।
यो जितसँगै समूह ‘बी’ मा रहेको बागमतीले २ खेलमा १ मा जित र १ मा हार व्यहोर्दै अंकतालिकामा २ अंक जोडेको छ। इता, लगातार दुई खेलमा जित निकाल्दै ४ अंक जोडेको प्रदेश १ एक खेल अगावै सेमिफाइनल पुगेको छ।
अब प्रतियोगिता अन्तर्गत बिहीबार समूह ‘बी’ का अन्तिम खेलहरु हुनेछन्। जस अन्तर्गत पहिलो खेलमा सुदूरपश्चिमले बागमतीको सामना गर्दा दिनको दोस्रो खेलमा प्रदेश १ ले गण्डकीको सामना गर्नेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







